2026 April 23/ 05:28: 34pm

    बेथान्चोक/संघीय सरकारले विद्यालयहरुमा पनि आईतबार विदा दिने निर्णय विरुद्ध बेथान्चोक गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै सोहि दिन पनि कक्षा संचालन गर्ने निर्णय गरेको छ । 
    अध्यक्ष भगवान अधिकारीले आईतबार पालिकामा आयोजित शैक्षिक गुणस्तर सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उक्त निर्णय सुनाएका थिए । बेथानचोक गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू गरेको उनले बताए । पालिकाले गुणस्तरीय शिक्षा अभियानअन्तर्गत पालिकाभरीका सबै शिक्षकहरूसँग विशेष कार्यक्रम सम्पन्न गर्दै आगामी शैक्षिक सत्रका लागि नयाँ कार्ययोजना अघि सारेको अध्यक्ष अधिकारीले बताए । 
    कार्यक्रममा विद्यालय शिक्षालाई थप व्यवस्थित, अनुशासित र नतिजामुखी बनाउने लक्ष्यसहित केही विशेष निर्णयहरू गरिएको बताईएको छ । अबदेखि पालिकाभित्रका विद्यालयहरूमा आइतबार पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । आइतबार सबै विद्यालयहरुमा शिक्षण सिकाईका लागि प्रयोग गरिनेछ । त्यसैगरी, पालिका भित्रका सबै विद्यालय वैशाख १३ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने निर्णय गरिएको छ । विद्यालय खुलेसँगै सबै शिक्षकहरूले पाठ योजना (लेसन प्लान) तयार गरी त्यसकै आधारमा शिक्षण कार्य सुरु गर्ने व्यवस्था मिलाइनेछ ।
    पालिकाले विद्यार्थीलाई व्यवहारिक र जीवनोपयोगी शिक्षा दिन सीपमूलक शिक्षामा विशेष जोड दिएको जनाएको छ । यसका लागि सबै शिक्षकहरूले साझा प्रयास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले यी निर्णयहरू कार्यान्वयनमा आएपछि स्थानीय शिक्षामा सकारात्मक परिवर्तन आउने विश्वास लिएको छ । विद्यार्थीहरूको सिकाई उपलब्धि वृद्धि हुनुका साथै विद्यालय शिक्षामा अनुशासन, नियमितता र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा शिक्षाविद्हरु प्रा.डा.विद्यानाथ कोईराला, डा.हरि लम्साल, डा.बलराम तिमल्सिना, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु लगायत सरोकारवाला निकायका प्रतिनधिहरु सहभागि थिए ।