2026 April 23/ 05:01: 00pm

विकास तिमल्सिना
पनौती

    कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यसहित काभ्रेको पनौतीमा ओजोन वास प्रविधियुक्त ‘फुड बैंक’ र ‘सुपर मार्ट’ सञ्चालनमा आएको छ । राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आर.के.सि.एन.एल.फुड बैंक लिमिटेडले शनिबार एक कार्यक्रमका बीच यसको औपचारिक शुभारम्भ गरेको छ । 
    फुड बैंकको स्थापना तथा राष्ट्रिय कृषि कम्पनीको उद्देश्यका बारेमा जानकारी गराउँदै कम्पनीका अध्यक्ष विशाल हुमागाईले ओजोन वास प्रविधि प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवशेष न्यूनिकरण गरेर उपभोक्तालाई स्वस्थ, सुरक्षित र ताजा उत्पादन उपलब्ध गराउने लक्ष्य राखिएको बताए । ‘देशका विभिन्न जिल्ला तथा विशेष गरी काभ्रेको पनौती, बेथान्चोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको छ’–अध्यक्ष हुमागाईले भने–‘भविष्यमा करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ । १२ लाख कृषक र ३७ लाख उपभोक्ताको विचमा पुग्ने छौं । एक हजार जनालाई प्रत्यक्ष र ५ हजार जनालाई आंशिक रोजगारी हुनेछ ।’ कम्पनी संचालनको दुई वर्षको अवधीमा ९२ जना कर्मचारी प्रत्यक्ष र १ सय ५० भन्दा धेरै आशिक रोजगारीमा रहेको उनले बताए । बहुउत्पादन, बजारीकरण, फार्म टु टेबल, बिचौलियाको लेयर घटाउने, उपभोक्ताको भान्साको मुल्य घटाउँदै कृषकलाई उत्पादनको उचित मुल्य प्रदान गर्ने लगायतका योजनाहरु कार्यान्वयनमा रहेको उनले बताए । 
    अध्यक्ष हुमागाईले कृषि साक्षरता, बजारीकरण, कृषक समुह र कृषकहरुको नियमित लेखापरिक्षण, संगठित समुह, खाद्य सुरक्षा र स्वच्छता, कृषकहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश जस्ता विषय चुनौतीपूर्ण भए पनि राज्यका नीतिहरु सहज हुन सके सम्भावना नै सम्भावना रहेको बताए । कृषकबाट उद्यमी बनाउने, आर्थिक गति बृद्धी गर्ने लगायतका विषयलाई कम्पनीले प्राथमिकता दिएको बताउँदै मुलुकको प्रमुख आर्थिक बृद्धिको श्रोत कृषि, पर्यटन र हाईड्रोपावर भएकाले कृषि क्षेत्रलाई तत्काल ब्यवस्थित बनाउन आवश्यक रहेको बताए । सोहि अवसरमा कम्पनी र सामुदायिक साकोस बीच सम्झौता भएको छ । अध्यक्ष विशाल हुमागाई र सहकारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले हस्ताक्षर गरेका थिए । सहकारीका अध्यक्ष मुकुन्द शर्मा वाग्ले र कम्पनीका संचालक तथा फुड बैंकका प्रबन्ध निर्देशक सुदिप सापकोटाले साक्षीका रुपमा हस्ताक्षर गरेका थिए । 
    प्रतिनिधि सभा सदस्य काभ्रे क्षेत्र नम्वर २ का बदन भण्डारीले एक कार्यक्रमका बीच ओजोन वास प्रविधि सहितको फुड बैक र सुपर मार्टको उद्घाटन गरे । सोहि कार्यक्रममा बोल्दै भण्डारीले आम नागरिकहरु विश्वमा प्रकृतिसँगको ब्यवहारमा फर्कने अभियान संचालन गर्ने अवस्थामा पुगेको बताए । ‘उपभोक्तालाई स्वच्छ खाद्य बस्तु उपलब्ध गराउन कृषि क्षेत्रलाई प्राथमिकता दिन आवश्यक छ’–उनले भने–‘सरकारलाई काभ्रेका पालिका अनुसार बहुउद्देश्यीय चिस्यान केन्द्र निर्माणका लागि ध्यानाकर्षण गराएको छु ।’ कार्यक्रममा बोल्दै उनले सरकारले सुशासन र भ्रष्टाचार रहित मुलुक निर्माणका लागि प्रतिवद्धता ब्यक्त गर्दै २०६२–०८२ अवधीको सम्पत्ति छानविन शुरु गरेको बताए । सँगै उनले सम्पत्ति छानविनसँगै योजनाहरुका सन्दर्भमा पनि छानविन हुने बताए । काभ्रेमा एकीकृत खानेपानी, सुरक्षण मुद्रण प्रेस लगायतका आयोजनाका बारेमा छानविन आवश्यक रहेको उनले बताए । कृषकहरुका अनगिन्ति समस्या भए पनि तत्काल पाँचखालको आलुको समस्या समाधान गर्न नसक्ने प्रतिनिधि सभा सदस्य भण्डारीले बताए । ‘पाँचखालमा कृषकले आलुको मुल्य पाएनन्, मैले घरघर लगेर विक्री गर्न सक्ने अवस्था छैन’–उनले भने । 
    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले राष्ट्रिय कृषि कम्पनिको लक्ष्य, उद्देश्य र योजनामा सहकार्य र समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरे । कृषिका समस्या, कृषकहरुलाई परिरहेको असहजता र कृषि क्षेत्रको ब्यवसायिकतामा सहकार्यका लागि स्थानीय सरकार समन्वय गर्न तयार रहेको उनिहरुले बताए । 
    पनौती–४ ठाडोबाटोमा स्थापना गरिएको उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल संकलन तथा बिक्री वितरण गरिनेछ । कम्पनीका प्रवन्ध निर्देशक सुदिप सापकोटाले उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा ध्यान दिँदै कृषक र उपभोक्ता दुवैलाई प्रत्यक्ष फाइदा पुग्ने गरी फुड बैंक सञ्चालन गरिएको बताए । आमा उपभोक्तालाई स्वस्थ तरकारी र फलफुल उपलब्ध गराउन ओजोन प्रविधि महत्वपूर्ण हुने उनले बताए । 
    कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका जीवाणु नष्ट गरिन्छ । यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्व हटाउने, साथै खाद्य पदार्थको शेल्फ लाइफ बढाउने काम गर्छ । यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वस्थकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यो काभ्रे जिल्लामै पहिलोपटक यस्तो प्रविधियुक्त फुड बैंक सञ्चालनमा आएको हो । अध्यक्ष हुमागाईले कम्पनीले बहुउद्देश्यीय उत्पादन, बजार व्यवस्थापन, कृषकलाई समूहगत उत्पादनमा सहजीकरण तथा सहकारीसँग समन्वय गर्दै दिगो कृषि प्रणाली विकासमा योगदान पु¥याउने जानकारी दिए । यसअघि कम्पनीका तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।