मेरो बाल्यकालको सबैभन्दा पुरानो सम्झना कुनै खेल, कुनै साथी, वा कुनै उत्सव होइन–एउटा प्रश्न हो । मेरो आमा कहाँ छिन् ? त्यो प्रश्न मैले पहिलोपटक कहिले सोधें, ठ्याक्कै सम्झना छैन । तर त्यो प्रश्न सधैं मेरो भित्र थियो, जसरी सास हुन्छ, देखिँदैन तर हरपल चलिरहन्छ । म सानो थिएँ, सायद पाँच–छ वर्षको । गाउँको सानो स्कुलमा भर्खरै भर्ना भएको । पहिलो दिन नै शिक्षकले सबैलाई उठाएर नाम सोध्नुभयो । तिम्रो नाम ? ....। बुबाको नाम ? ....। आमाको नाम ? मेरो जिब्रो एक्कासी अड्कियो । मलाई बुबाको नाम थाहा थियो । आफ्नो नाम पनि । तर ‘आमाको नाम’ ? त्यो शब्द मेरो लागि खाली थियो, जस्तो कापीको पन्ना, जहाँ केही लेखिएको छैन ।
कक्षाभरी सबैले मलाई हेरिरहेका थिए । म चुप लागें । बोल्न सक्दैनौ ? शिक्षकले फेरि सोध्नुभयो । मैले टाउको हल्लाएँ । त्यो दिन मैले पहिलोपटक महसुस गरें–म अरू जस्तो छैन । घर फर्किएपछि म सिधै बुबा नजिक गएँ । उहाँ आँगनमा केही काम गरिरहनुभएको थियो । बुबा...मैले हिचकिचाउँदै बोलाएँ । के भयो ? उहाँले नहेरी नै सोध्नुभयो । मेरो आमा कहाँ छिन् ? उहाँको हात रोकियो । त्यो क्षण आज पनि मेरो आँखामा ताजै छ । उहाँको अनुहारमा एउटा अनौठो छाया आयो, जस्तो कसैले पुरानो घाउमा औँला राखेको हो । उहाँ केही समय चुप लाग्नुभयो । तिम्रो आमा टाढा छिन्, उहाँले भन्नुभयो । कति टाढा ? धेरै टाढा । त्यसपछि उहाँ फेरि काममा लाग्नुभयो । तर म त्यहीँ उभिएर सोचिरहेँ, धेरै टाढा भनेको कहाँ हो ?
के त्यो अर्को गाउँ हो ? अर्को शहर ? कि... आकाश ? समय बित्दै गयो । म त्यो प्रश्न दोहो¥र्याउन डराउन थालेँ । किनकी हरेकपटक सोध्दा बुबाको अनुहार बदलिन्थ्यो । त्यसैले मैले प्रश्न सोध्न छोडें । तर प्रश्न मभित्रै बसिरह्यो । केही वर्षपछि बुबाले फेरि विवाह गर्नुभयो । मलाई त्यो दिनको सबै कुरा याद छ, घरमा मान्छेहरूको भीड, हाँसो, बाजा, अनि एउटा नयाँ अनुहार । उहाँ भित्रिनुभयो, लालपरी जस्तो सजिएर । सबैले भन्न थाले–अब तिम्रो आमा आयो । म त्यो शब्द सुनेर झसङ्ग भएँ । आमा ? त्यो शब्द त मेरो लागि खाली थियो । अब कसैले त्यसलाई भरिदिन खोजिरहेको थियो । उहाँ बिस्तारै मेरो नजिक आउनुभयो । तिमी मेरो छोरो है ? उहाँले मुस्कुराउँदै सोध्नुभयो । म केही बोलिनँ । उहाँले मेरो टाउकोमा हात राख्नुभयो । त्यो स्पर्श नरम थियो–तर अपरिचित । अब म तिम्रो आमा हुँ, उहाँले भन्नुभयो ।
मलाई त्यो वाक्य सुन्नै गाह्रो लाग्यो । आमा त... एउटै हुन्छ नि ? त्यसपछि मेरो जीवन दुई भागमा बाँडियो–बाहिरी र भित्री । बाहिरबाट हेर्दा, सबै ठीक थियो । उहाँले मलाई खाना खुवाउनुहुन्थ्यो, कपडा लगाइदिनुहुन्थ्यो, बिरामी हुँदा स्याहार गर्नुहुन्थ्यो । कहिलेकाहीँ त उहाँले मलाई अंगालो हाल्नुहुन्थ्यो । तर भित्र...भित्र म उहाँलाई स्वीकार्न सकिरहेको थिइनँ । म उहाँलाई ‘आमा’ भन्न सक्दिनथें । शब्द जिब्रोमा आइपुग्थ्यो, तर बाहिर निस्कँदैनथ्यो । त्यसैले म उहाँलाई ‘आन्टी’ भन्थें । हरेकपटक त्यो शब्द सुन्दा उहाँको आँखामा हल्का चोट देखिन्थ्यो । तर उहाँले केही भन्नुहुन्नथ्यो । दशैं आयो । गाउँभरि उत्सव थियो । सबै नयाँ लुगा, टीका, हाँसो । म पनि बुबासँग टीका लगाउन बसें । तर जब अरू बच्चाहरू आफ्नी आमाको काखमा बसेर टीका लगाइरहेका थिए, म टाढाबाट हेर्दै थिएँ । मलाई पनि मन लाग्यो, कुनै काख होस्, जहाँ म निसंकोच बस्न सकूँ । तर त्यो काख मेरो लागि खाली थियो । सौतेनी आमा नजिकै हुनुहुन्थ्यो । उहाँले मलाई बोलाउनुभयो–आऊ, मसँग बस । म हिचकिचाएँ । म जान चाहन्थें... तर केहीले मलाई रोकिरहेको थियो । म बुबा नजिकै बसिरहेँ । त्यो दिन पहिलोपटक मैले आफूभित्र दुई भाग देखेँ–एउटा जसले माया चाहन्थ्यो, र अर्को जसले त्यसलाई अस्वीकार गरिरहेको थियो ।
तिहारमा दियो बाल्ने बेला आयो । सबैले आँगन सजाए । उहाँले पनि मलाई सँगै राखेर दियो बाल्न सिकाउनुभयो । यसरी समात्ने, यसरी राख्ने, उहाँले नरम स्वरमा भन्नुभयो । म चुपचाप सिक्दै थिएँ । अचानक उहाँले सोध्नुभयो, तिमी मलाई आमा भन्न सक्दैनौ ? मेरो हात काँपियो । म केही बोलिनँ । केही सेकेन्ड मौन बसें । ठिकै छ, उहाँले बिस्तारै भन्नुभयो, जब मन लाग्छ, तब भन । त्यो वाक्यमा कुनै रिस थिएन–केवल थकान थियो र त्यो थकानले मलाई अझ भारी बनायो । म विस्तारै ठूलो हुँदै गएँ । स्कुलमा साथीहरू थिए, खेलकुद थियो, पढाइ थियो । तर घर फर्किँदा सधैं एउटै अनुभूति आउँथ्यो, अधुरोपन । एकदिन साथीले भन्यो, मेरो आमाले मलाई नयाँ जुत्ता किनिदिनुभयो । मैले हाँस्दै भनें, राम्रो रहेछ । तर त्यो रात म जुत्ताभन्दा बढी त्यो शब्दबारे सोचिरहेँ, मेरो आमा । त्यो शब्द म कहिल्यै सजिलै भन्न सक्दिनथें । एकदिन म बिरामी परें । ज्वरोले शरीर पोलिरहेको थियो । बुबा बाहिर जानुभएको थियो । उहाँ (सौतेनी आमा) मेरो छेउमा बसिरहनुभएको थियो । पानी पिलाउनु, टाउकोमा पट्टी राख्नु, रातभरि ननिदाई बस्नु...। म अधबेस्सरी आँखा खोलेर उहाँलाई हेर्थें । त्यो क्षणमा उहाँ ‘आन्टी’ जस्तो लागिरहनु भएको थिएन । तर पनि... म त्यो शब्द भन्न सकिनँ । त्यो रात म मनमनै सोचिरहेँ, यदि यही मेरी साँचो आमा हुन्थिन् भने... के म यस्तै महसुस गर्थें ? मलाई उत्तर थाहा थिएन । तर एउटा कुरा थाहा थियो, मसँग आमा थियो... र थिएन पनि । र त्यो विरोधाभाससँगै मेरो बाल्यकाल बित्दै गयो ।
एउटा नाम थियो–तर अनुहार थिएन । एउटा अनुहार थियो–तर मनले स्वीकारेको थिएन । म दुई संसारको बीचमा अड्किएको थिएँ । र त्यो बीचको ठाउँ...। त्यहीँ मेरो कथा सुरु भएको थियो । कहिलेकाहीँ उमेर मात्र बढ्दैन, मनभित्रको भारीपन पनि बढ्दै जान्छ । म कक्षा ८–९ तिर पुगेपछि मेरो भित्र केही परिवर्तन हुन थाल्यो । पहिले जस्तो म चुपचाप बस्ने केटा रहेनँ । अब म प्रश्न सोध्थें–जोरले, कहिलेकाहीँ चिच्याएर । तर अचम्म के थियो भने, मेरा सबै प्रश्नहरूको जरा एउटै ठाउँमा पुग्थ्यो, ‘आमा’ । एकदिन साँझको समय थियो । बुबा खेतबाट फर्किनुभएको थियो । म आँगनमा बसिरहेको थिएँ, किताब खोलेर, तर पढिरहेको थिइनँ । मन कतै हराइरहेको थियो । अचानक मैले सोधें–बुबा, मेरो आमा किन गइन् ? यो प्रश्न मैले धेरै वर्षपछि फेरि बोलेको थिएँ ।
बुबा रोकिनुभयो । उहाँले मलाई हेर्नुभयो, गहिरो, सीधा नजरले । किन सोध्दैछौ अहिले ? उहाँले सोध्नुभयो । किनकी मलाई थाहा पाउन मन छ ! मेरो स्वर अलि चर्कियो । अब के फरक पर्छ ? उहाँले शान्त स्वरमा भन्नुभयो । त्यो वाक्यले मलाई झनै तातो बनायो । मलाई फरक पर्छ ! म चिच्याएँ, मलाई थाहा हुनुपर्छ ! आँगन एक्कासी भारी भयो । सौतेनी आमा भान्साबाट निस्केर हेर्न थाल्नुभयो । बुबा केही समय चुप लाग्नुभयो । केही कुरा थाहा नपाए पनि हुन्छ, उहाँले बिस्तारै भन्नुभयो । त्यो उत्तरले मलाई भत्कायो । म तपाईंको छोरो होइन ? मैले झन् चर्किएर सोधें । उहाँको अनुहार बदलियो । यस्तो कुरा नगर, उहाँले कडा स्वरमा भन्नुभयो । त्यसो भए भन्नुहोस् ! मेरो आमा कहाँ गईन् ? किन गइन् ? म रोषले काँप्दै थिएँ । तर बुबाले केही भन्नुभएन । उहाँ चुप लाग्नुभयो । र त्यो मौनता... त्यो मौनता नै मेरो लागि सबैभन्दा ठूलो अस्वीकार थियो ।
त्यो दिनपछि म बुबासँग टाढा हुन थालेँ । पहिले म उहाँसँग सँगै बस्थें, कुरा गर्थें । अब म आफ्नो कोठामा बस्न थालेँ । उहाँले केही सोध्नुभयो भने छोटो उत्तर दिन्थें । मनभित्र एउटा रिस थियो–स्पष्ट नभएको, तर गहिरो । सौतेनी आमासँगको सम्बन्ध पनि बिग्रिँदै गयो । उहाँले अझै पनि माया दिन खोजिरहनुभएको थियो । खाना खायौ ? पढाइ कस्तो छ ? बिरामी त छैनौ ? तर म चिढिन्थें । मलाई एक्लै छोड्नुस् ! म झर्कन्थें । उहाँ चुप लाग्नुहुन्थ्यो । कहिलेकाहीँ उहाँको आँखामा आँसु देखिन्थ्यो । तर म हेर्न चाहन्नथें । मलाई लाग्थ्यो–उहाँ मेरो साँचो आमा होइनन्, त्यसैले उहाँको मायाको कुनै अर्थ छैन । तर भित्र कतै... म जान्थें–त्यो सोच गलत पनि हुन सक्छ । तर स्वीकार्न मन लाग्दैनथ्यो । किशोरावस्था अजीव हुन्छ । संसार बुझ्न थालिन्छ, तर आफूलाई बुझ्न सकिँदैन । म साथीहरूसँग हाँस्थें, खेल्थें । बाहिरबाट सबै ठीक थियो । तर राति...राति म एक्लै हुन्थें । छत हेर्दै सोच्थें, आमा अहिले कहाँ हुनुहुन्छ ?
के उहाँले मलाई सम्झिनुहुन्छ ? के उहाँलाई मेरो जन्मदिन थाहा छ ? यी प्रश्नहरू मसँगै सुत्थे । एकदिन स्कुलमा एउटा घटना भयो । हामीलाई निबन्ध लेख्न दिइयो, मेरो आमा । सबै विद्यार्थीले लेख्न थाले । म कापी हेरेर बसिरहेँ । कलम चल्दैनथ्यो । म के लेखूँ ? जसलाई मैले कहिल्यै देखिनँ, उहाँबारे कसरी लेखूँ ? अन्ततः मैले केही शब्द लेखें, मेरो आमा टाढा हुनुहुन्छ । म उहाँलाई चिन्दिनँ । तर म उहाँलाई सम्झिन्छु । त्यो निबन्ध मैले बुझाएँ । शिक्षकले पढ्नुभयो । केही भन्नुभएन । तर उहाँको आँखामा एउटा फरक नजर थियो–दया, सहानुभूति... वा केही अझ गहिरो । मलाई त्यो नजर मन परेन । मलाई कसैले ‘बिचरा’ ठानोस् भन्ने मन थिएन । समयसँगै म झन् विद्रोही हुँदै गएँ । साना कुरामा पनि रिस उठ्थ्यो । घर ढिलो फर्किन थालेँ । कहिलेकाहीँ बुबासँग झगडा हुन्थ्यो । तिमी बिग्रिँदै गइरहेका छौ, उहाँ भन्नुहुन्थ्यो । म पहिले पनि यस्तो नै थिएँ, म उल्टो जवाफ दिन्थें । तर भित्र म जान्थें, म बदलिँदै थिएँ । र त्यो परिवर्तनको जड... फेरि पनि त्यही थियो । एकदिन ठूलो झगडा भयो । सौतेनी आमाले मलाई केही कुरामा सम्झाउन खोज्नुभयो । यसरी हिँड्नु हुँदैन, उहाँले नरम स्वरमा भन्नुभयो । म चिढिएँ ।
तपाईंलाई के थाहा ? मैले झर्किएर भनेँ । म तिम्रो राम्रो चाहन्छु, उहाँले फेरि भन्नुभयो । त्यसपछि... त्यो वाक्य मेरो मुखबाट निस्कियो–तपाईं मेरी आमा होइन ! आँगन एक्कासी सन्नाटामा डुब्यो । उहाँ स्थिर हुनुभयो । उहाँको आँखामा आँसु भरियो । तर उहाँले केही बोल्नुभएन । केवल फर्केर भान्सातिर जानुभयो । त्यो क्षण... मेरो जीवनको सबैभन्दा भारी क्षणमध्ये एक थियो । तर पनि... मैले माफी मागिनँ । मेरो अहंकार ठूलो थियो । त्यो दिनपछि उहाँ अझ टाढा हुनुभयो । उहाँले मसँग कुरा कम गर्न थाल्नुभयो । मलाई केहि भन्नु भए पनि छोटो मात्र । तर माया भने अझै थियो–त्यो माया अब शब्दमा होइन, काममा देखिन्थ्यो । खाना तयार हुन्थ्यो । लुगा सफा हुन्थ्यो । सबै व्यवस्थित । तर त्यो माया अब मौन थियो । र त्यो मौनता... चिच्याइरहेको जस्तो लाग्थ्यो । म कलेज पुगें । नयाँ ठाउँ, नयाँ मान्छेहरू । म सोच्थें–अब सायद म नयाँ जीवन सुरु गर्न सक्छु । तर मनभित्रको खालीपन सँगै आयो । त्यो कहिल्यै छुटेन । त्यही बेला मेरो जीवनमा एक जना केटी आईन् । उनी अलिक फरक थिइन् । उनले मलाई हेर्ने तरिका फरक थियो, जस्तो म भित्रसम्म देख्न सक्नुहुन्थ्यो । तिमी भित्र केही लुकाएको छौ, उनले एकदिन भनिन् । म हाँसेँ, सबैसँग हुन्छ । तर तिम्रो फरक छ, उनले भनिन् । त्यो दिन पहिलोपटक मैले कसैलाई आफ्नो कथा सुनाएँ ।
आमाबारे । खालीपनबारे । उनी चुपचाप बसिन् । सुनि मात्रै रहिन् । अन्त्यमा उनले भनिन् तिमी एक्लो छैनौ । तर म जान्थें–म एक्लो नै थिएँ । किनकी त्यो ठाउँ, जहाँ आमा हुनुपथ्र्यो...त्यो ठाउँ कसैले भरिदिन सक्दैनथ्यो । हाम्रो सम्बन्ध केही समय राम्रो चल्यो । तर विस्तारै...मेरो भित्रको अधुरोपन हाम्रो सम्बन्धमा पनि देखिन थाल्यो । म कहिलेकाहीँ टाढा हुन्थें । उनि सोधिरहन्थिन, के भयो ? म भन्थें, केही छैन । तर त्यो केही छैन भित्र धेरै कुरा थियो । अन्ततः...हामी छुट्यौं । तिमी आफैंलाई बुझ्न सक्दैनौ, अन्तिममा भनिन् । अनि कसैले तिमीलाई बुझ्न सक्दैन । त्यो वाक्यले मलाई चिर्यो । किनकी त्यो सत्य थियो । त्यसपछि म झन् एक्लो भएँ । तर त्यो एक्लोपन अब नयाँ थिएन । त्यो त पुरानै साथी जस्तो भइसकेको थियो । र त्यही एक्लोपनको बीचमा...आमा खुवाउने औंसी फेरि आयो । सबैले आमालाई सम्झिए । म चुपचाप बसें । आकाश हेरेँ । मनमनै भनेँ, आमा... तिमी जहाँ भए पनि, खुशी हुनु । तर त्यो दिन... पहिलोपटक...मलाई यस्तो लाग्यो–यो प्रार्थना कतै पुगिरहेको छ । तर कहाँ ? मलाई थाहा थिएन ।
भक्तबहादुर क्षेत्री
बनेपा, काभ्रे









