पोखरा/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको प्रतिष्ठित गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ डिस्ट्रिक्ट कन्फरेन्सका अवसरमा पोखरामा प्रदान गरिएको हो ।
पोखरास्थित इभेन्ट सेन्टरमा आयोजित विशेष समारोहमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, पाष्ट डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन तथा दीपकराज भण्डारीलगायतले सेन्टरका सञ्चालक श्रीकृष्ण धिताल र रुपा प्याकुरेल लाई अवार्ड हस्तान्तरण गरेका थिए । अवार्ड घोषणा हुनेबित्तिकै कार्यक्रममा उपस्थित रोटरियनहरूले लामो समयसम्म ताली बजाउँदै बधाई व्यक्त गरेका थिए । २०७४ सालदेखि सञ्चालनमा आएको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले पानी, सरसफाइ तथा स्वच्छता, खाद्य सुरक्षा, दिगो कृषि, नवीकरणीय ऊर्जा तथा जलवायु सहनशीलताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सेन्टरले फुड–एनर्जी–वाटर नेक्सस अवधारणालाई व्यवहारमा उतार्दै समुदायमा पानीको अभाव समाधान, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा दिगो जीवनयापन प्रवद्र्धनमा काम गरिरहेको छ ।
विशेषगरी, वर्षा पानी संकलन, विकेन्द्रीकृत फोहोर पानी प्रशोधन, पानीको गुणस्तर परीक्षण तथा समुदायस्तरमा सरसफाइ प्रबद्र्धनजस्ता कार्यक्रममार्फत धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । हालसम्म ३०० भन्दा बढी वर्षा पानी संकलन पोखरी निर्माण भइसकेका छन्, जसबाट लाखौँ लिटर पानी संकलन हुँदै कृषिमा उत्पादन वृद्धि र जल अभाव न्यूनीकरणमा टेवा पुगेको छ । यसका साथै, विद्यालयहरूमा शौचालय तथा हातधुने संरचना निर्माण, सरसफाइ शिक्षा तथा समुदायमा व्यवहार परिवर्तनका कार्यक्रम पनि सञ्चालन गरिँदै आएका छन् । सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत अनुसन्धान र व्यवहारिक कार्यलाई जोड्दै आफूलाई ‘लिभिङ ल्याब’ का रूपमा विकास गरेको जनाएको छ । अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै सेन्टरका कार्यकारी निर्देशक श्रीकृष्ण धितालले प्राप्त रकम पुनः ध्ब्क्ज् तथा दिगो जल व्यवस्थापनका कार्यक्रम विस्तारमा लगानी गरिने बताए । उनका अनुसार विकेन्द्रीकृत फोहोर पानी प्रशोधन प्रणाली विस्तार गर्दै विद्यालय र समुदायमा नमूना परियोजनाहरू विकास गरिनेछ ।
हाल करिब १० जना कर्मचारी कार्यरत रहेको यस सेन्टरले किसान, विद्यार्थी तथा युवाहरूलाई तालिम, अनुसन्धान तथा उद्यमशीलतामा समेत जोड्दै आएको छ । मेकानिकल इन्जिनियरिङ पृष्ठभूमिका धिताल काठमाडौं विश्वविद्यालयमा अध्यापनसमेत गर्दै आएका छन् र ग्रामीण क्षेत्रमा फर्किएर दिगो विकासको नमूना प्रस्तुत गरेका छन् । रोटरी इन्टरनेसनलद्वारा प्रदान गरिने यो अवार्ड पानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति, समूह वा संस्थालाई दिइन्छ । यसअघि १० लाख रुपैयाँ रहेको पुरस्कार राशि २०२४ देखि बृद्धि गरी २० लाख पु¥याइएको हो । सन् १९०५ मा अमेरिकाको शिकागोमा स्थापना भएको रोटरी इन्टरनेसनल विश्वकै पुरानो सेवामूलक संस्थामध्ये एक हो । विश्वभर यसको १२ लाखभन्दा बढी सदस्य सक्रिय छन् । पोखरामा जारी तीनदिने सम्मेलनमा नेपाल र भुटानका करिब १ हजार ५ सय रोटरियन सहभागी भएका छन् ।









