पनौती/फ्रिडम टु लर्न नेपालले पनौतीमा १५ जना महिलाका लागि ६० घण्टे बारिष्टा तालिम सुरु गरेको छ । तालिमको उद्घाटन पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले गरेका हुन् । १५ दिनसम्म सञ्चालन हुने तालिम सामुदायिक विद्यालयमा अध्ययन गरी एसईई दिएर बसेका छात्रा तथा महिला अभिभावकलाई लक्षित गरिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले सीप, ज्ञान र क्षमता अभिबृद्धि गर्दै मानव श्रमशक्तिमा लगानी बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । गुणस्तरीय शिक्षाका लागि नागरिकस्तरबाट सुरु भएको अभियान पछिल्लो समय पर्यटन, संस्कृति र संस्कारतर्फ केन्द्रित भएको उनले जानकारी दिए । उनका अनुसार पनौतीस्थित कम्युनिटी क्याफेमार्फत सकारात्मक सोच र समाज निर्माणको अभियान पनि अघि बढाइएको छ। तालिम लिएपछि आत्मनिर्भर बन्न चाहने महिलालाई कानुनी तथा व्यावहारिक चुनौती समाधानमा समेत सहजीकरण गरिने उनले बताए ।
नगर प्रमुख रामशरण भण्डारीले तालिमको वास्तविक उपलब्धि त्यसको परिणामबाट देखिने भएकाले सिकेको सीपलाई निरन्तर प्रयोगमा ल्याउन आग्रह गरे । सीपविना जीवनयापन कठिन हुने भन्दै उनले निःशुल्क तालिमको सदुपयोग गर्न सहभागीलाई अनुरोध गरे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले तालिमले स्वदेश वा विदेश जहाँ रहे पनि जीवन सहज बनाउने बताए। प्रमुख प्रशिक्षक मोहन गजुरेलले ध्यानपूर्वक सिक्न र सिकेको विषयलाई व्यवहारमा उतार्न नियमित अभ्यास आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष प्रा.डा. नीलम शर्माले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त नहुने उल्लेख गर्दै जनशक्ति व्यवस्थापन, श्रम तथा सीप विकासमा लगानी आवश्यक रहेको बताए ।









