2026 April 28/ 01:04: 53am

धुलिखेल/२०८१ बैशाख ७ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमा बुझाएको नागरिकता विक्री सम्वन्धी संगठित अपराध मुद्दाको फाईल अझै अदालत पुगेको छैन ।
    ‘सामान्यतया प्रहरीले बुझाएको केहि दिन भित्रै सरकारी वकिल कार्यालयले मुद्दाको फाईल अदालत बुझाउने गर्छ’– एक कानून ब्यवसायीले भने–‘नागरिकता सम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयले १६ दिनसम्म फाईल अदालत नबुझाउनुको कारण बुझ्न सकिएन ।’ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०७४ पौषमा विदेशी नागरिक दावा भनिने निमा लामा लगायतलाई नागरिकता र राहदानी विक्री गरेको अभियोगमा सून तस्करीमा पक्राउ परिसकेका दावा सहित दुई अधिकृत झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले २०८० साल फागुन देखि नै प्रतिवादी बनाएर अनुसन्धान शुरु गरेको थियो । दावा सून तस्करी अभियोगमा पुर्पक्षमा रहेकाले खरेल र अर्याललाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले त्यहि अवधीमा नेपाली नागरिक राजु गुरुङलाई पाँच लाख रुपैयामा नागरिकता र राहदानी विक्री गरेको अभियोगमा मुद्दा दर्ता ग¥यो । जिल्ला अदालत काभ्रेपलाञ्चोकले राजु गुरुङ सहित खरेल र अर्याल सहित गुरुङलाई समेत पुर्पक्षमा पठाउने आदेश गरेको थियो । उच्च अदालत गएका तिनै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । गुरुङलाई ५ लाख र अधिकृतद्धयलाई ५०÷५० हजार धरौटी माग गरिएको थियो । गुरुङ धरौटी राखेर कारागार मुक्त भएका छन् भने अधिकृतद्वय अर्काे मुद्दा दर्ता गरेकाले कारागार भित्रै छन् । 
    जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले समयमा मुद्दा नबुझाएकै कारण उनिहरु कारागार मुक्त नभएका हुन् । सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी राजिव न्यौपानेले अनुसन्धान गर्न समय लागेकाले मुद्दाको फाईल बुझाउन नसकिएको बताए । ‘प्रहरीले नागरिकताको मात्रै अनुसन्धान गरेर फाईल ल्याएको रहेछ । दावा भनिने निमा लामाले नागरिकतासँगै राहदानी पनि लिएकाले अनुसन्धान गर्न बाँकी रहेको हो’–न्यौपानेले भने–‘प्रहरीले ल्याएको संगठित अपराधमा पेश गर्न मिल्ने हो होईन ? त्यो पनि अनुसन्धान गरिरहेका छौं । अनुसन्धान सकिने वितिक्कै फाईल बुझाउने छौं ।’ कहिले बुझाउने ? कहिले सकिन्छ ? भन्ने जिज्ञासामा न्यौपानेले भने–‘कारागारबाट ब्यक्ति झिकाएर अनुसन्धान शुरु गरिसकेका छौं । छिट्टै बुझाउने छौं ।’ शुक्रबार न्यौपानले यसो भने पनि आईतबार ५ बजेसम्म पनि उनिहरुलाई अदालत बुझाईएन । जिल्ला सरकारी वकिलको कार्यालयमा अहिले जिल्ला न्यायाधीवक्ता छैनन । अनिवार्य अवकाशबाट रेशम आचार्य विदा भए पछि उक्त पद रिक्त छ । रिक्त पदमा कोहि नआए पछि दोश्रो नम्वरमा रहेका सहायक न्यायाधिवक्ता न्यौपाने लगायतले उक्त फाईल अनुसन्धान नगरी थन्काएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले दिने सेवामा भएको ढिलासुस्तिका बारेमा नागरिकहरुले समेत आवाज उठाउँदै आएका छन् । यस अघि जुवा लगायतका मुद्दामा सरकारी वकिल कार्यालय भित्रै आर्थिक लेनदेन गरेको गुनासो सार्वजनिक भएको थियो ।