2026 April 27/ 11:21: 34pm

धुलिखेल/धुलिखेल अस्पतालले ओठ तथा तालु चिरिएकाहरुको निशुल्क शल्यक्रिया सहित त्यस्ता बालबालिकाहरुमा हुन सक्ने अन्य रोगहरुका निशुल्क उपचार गर्ने भएको छ । बैशाख १ गते देखि उक्त उपचार सेवा निशुल्क गरिएको अस्पतालको मुख तथा अनुहार शल्यक्रिया विशेषज्ञ डा. नितेश चौरासियाले बताए । 
    ‘जन्मजात ओठ तथा तालु चिरिएको अथवा फाटिएको, गिजामा प्वाल परेको, अप्रेशन भैसकेका तर ओठ, तालु, नाक, अनुहार नमिलेका, जन्मजात ओठ तथा तालु चिरिएको बच्चाको पोषण सम्वन्धी जानकारी दिईनेछ’–मुख तथा अनुहार शल्यक्रिया विभागका डा.नितेश चौरासियाले भने–‘धुलिखेल अस्पतालले यस अघि शल्यक्रिया निशुल्क गरेको भए पनि अन्य उपचार सेवामा थोरै रकम लिदै आएको थियो । बैशाख १ गते देखि सबै प्रकारका उपचार सेवा समेत निशुल्क गरिएको छ ।’ 
    तीनवटा दातृ संस्थाको सहयोगमा उक्त सेवा निरन्तर निशुल्क उपचार गराईने दन्त विभागका डा. चन्दन उपाध्यायले बताए । उपचार सम्वन्धी सम्पूर्ण जानकारी, निशुल्क शल्यक्रिया तथा शल्यक्रिया सम्वन्धि गरिने सम्पूर्ण जाँच, जन्मजात ओठ तथा तालु चिरिएको अथवा फाटिएको अवस्था, क्लेफ्टको शल्यक्रिया पश्चात दाँत तथा अनुहार नमिलेको अवस्थाको तार बाँधेर वा शल्यक्रियाद्वारा गरिने उपचार, अप्रेशनका बेला एक जना अभिभावकलाई आवतजावतको खर्च र अप्रेशनको बेला एक जना अभिभावकलाई बस्ने र खाने सुविधा समेत अस्पतालको तर्फबाट गराईने डा.चन्दन उपाध्यायले बताए । ओठ तालु चिरिएका बालबालिकाहरुका अभिभावकहरुले अस्पतालको ९८०१३१५२६९, ९८२०१०००२१ र ९८०१००३०८२ सम्र्पक गर्न सकिने गरी अस्पतालले ब्यवस्थापन गरेको जनाएको छ ।