अर्किड ईन्टरनेशनल एकेडेमीले १४ औ वार्षिकोत्सव
बनेपा/बनेपामा रहेको अर्किड ईन्टरनेशनल एकेडेमीले स्थापनाको १४ औ वार्षिकोत्सव, अभिभावक भेला तथा दीक्षान्त सामारोह सम्पन्न गरेको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख शाक्यले शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्वन्धबाट मात्रै शिक्षामा गुणस्तर ल्याउन सकिने बताए । मन्टेश्वरी मैत्री विधीबाट बालबालिकाहरुलाई सिकाउनु पर्ने र मनटेश्वरीमा किताबको ब्याग बोकाउन नहुने शाक्यको भनाई थियो । बालबालिकाहरुको भावना र चाहना बमोजिम विद्यालयले उनिहरुलाई सिकाउनु पर्ने, अभिभावबकहरले पनि असल ब्यबहार गर्नु पर्ने शाक्यले बताए । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन संस्थापक प्रिन्सिपल अनिता प्रजापतिले राखेकी थिईन् । प्रजापतिले २०६६ सालमा ६ जना बाट शुरु गरिएको विद्यालयले शैक्षिक सत्र २०८१ बाट कक्षा ७ सम्मको अध्ययन गरिने बताईन् । डेढ दशक अवधीको अनुभवका आधारमा बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले प्रविधी, पुर्वाधार र सिकाईलाई प्राथमिकतामा राखेको उनले बताईन् ।
विद्यार्थीहरुलाई पढाई सँगै गुणस्तरीय र ब्यबहारिक शिक्षामा जोड दिएको बताईन् । विद्यार्थीहरुको क्षमता अनुसारको सिकाई अभ्यास गरिएको, अतिरिक्त क्रियाकलापमा जोड दिदै पढेका कुरालाई ब्यबहारमा ल्याउन विद्यालयमै प्रयोगात्मक अभ्यास गरिदै आएको प्रिन्सिपल प्रजापतिले बताईन् । विद्यालयले आगामी शैक्षिक थप नयाँ शैक्षिक कार्यक्रम राखिएको र शिक्षालाई प्रविधियुक्त र प्रयोगात्मक विधी मार्फत अध्यापन गराउने बताईन् । कार्यक्रममा विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष पुकार कारञ्जित, अभिभावक, विद्यार्थी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा १५ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो भने विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अनिता कारञ्जीतको सभापतित्वमा सम्पन्न भएको थियो ।
बेलर किड्स क्याष्टलको १५ आंै वार्षिकोत्सव
बनेपा/बेलर ईन्टरनेशनल स्कुलद्वारा संचालित किड्स क्यास्टलको १५ औ बार्षिकोत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ बाट १३ औ समूहका ५७ जना बालबालिकाहरु दीक्षित भएका थिए । हरेक वर्ष विद्यालयले कक्षा १ मा जाने विद्यार्थीहरुलाई दीक्षित गराउँदै आएको छ । दीक्षित विद्यार्थीहरु युकेजी उत्तिर्ण भएका हुन । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालबालिककाहरु सम्मिलित साँस्कृतिक कार्यक्रम र अभिभावक दिवसमा हजुरबा, हजुरआमालाई सम्मान गरिएको थियो ।
‘बालबालिकाहरुलाई सानैदेखि नैतिकवान, चरित्रवानसँगै शिक्षित बनाउन बालबालिकाहरु सम्मिलित विविध कार्यक्रम आयोजना गरिएको हो’– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले भने –‘शिक्षा उपलब्ध गराएर मात्रै बालबालिकाहरुलाई असल नागरिक बनाउन सकिँदैन । किड्स क्यास्टलले बालबालिकाहरुको सर्वाङ्गीण विकासका निमित्त महत्वपूर्ण योगदान पु¥याएको छ । हजुरबा, हजुरआमा सम्मान माया र संस्कारको पुस्तान्तरण हो ।’
जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले बालबालिकाहरुलाई शिक्षासँगै ब्यवहारीक ज्ञान, सिप र संस्कारयुक्त शिक्षाका साथै नैतिक शिक्षा उपलब्ध गराउनु पर्ने बताए । असल नागरिक तयार गर्ने वातावरण विद्यालयले बनाएकोमा समन्वय समिति प्रमुख गौतमले विद्यालयलाई धन्यवाद दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसी, विद्यार्थी अनमोल भुर्तेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रावि तह इन्चार्ज सविना प्रजापति कारञ्जितले ज्ञान र शिक्षा उपलब्ध गराउन मात्रै नभई बालबालिकाहरुमा भएको ज्ञान र सिपलाई प्रस्फुटन गराउनु प्रमुख दायित्व विद्यालय र अभिभावकको भएको बताईन् । ‘बालबालिकाहरुमा भएको क्षमतालाई प्रस्फुटन गराउन सकियो भने मात्रै ज्ञान उपलब्ध गराएको सार्थक हुन सक्छ’–प्रिन्सिपल सविना प्रजापतिले भनिन् । प्रिन्सिपल सविना प्रजापति कारञ्जितले बालबालिकाहरुको सिकाईमा उनिहरुको क्षमता र दक्षतालाई पक्रेर उनीहरूलाई सही मार्गमा अघि बढ्न सक्ने अवस्था हासिल गराउन सक्नु नै महत्वपूर्ण रहेको बताईन् । विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न प्रतिभाहरुमा अभिभावकहरुलाई संलग्न गराईएको थियो ।
हिकारी किन्डर गार्टेनको २१ औं वार्षिकोत्सव
बनेपा/जिल्लाकै पहिलो हिकारी किन्डर गार्टेनको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
किण्डर गार्टेनका अध्यक्ष मनिक तुम्रोकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबाललिकाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा किन्डर गार्टेनले दुई दशक लामो समय जिल्लामा बालबालिकाहरुलाई उपलब्ध गराएको मन्टेश्वरी शिक्षाका बारेमा प्रिन्सिपल शर्मिला केसी सिंले जानकारी गराईन् । जिल्लामै पहिलो मन्टेश्वरी तथा जापानीज प्रविधि मार्फत बालबालिकाहरुलाई सिकाईको अभ्यास गराउँदै आएको उनले बताईन् । विभिन्न प्रकारका खेल, अतिरिक्त क्रियाकलाप र सामाजिक अन्र्तक्रियाबाट बालबालिका उत्प्रेरित, संलग्न र सक्रिय राख्नु पर्ने उनले बताईन् ।
किन्डर गार्टेनले बालबालिकाहरुलाई पढाई सँगसँगै असल संस्कार, प्रयोगात्मक अभ्यास, जापनीज प्रविधि मार्फत सिकाउँदै आएको बताईन् । बालबालिकाहरुको रुची कुन विषयमा छ, त्यस अनुसारको ज्ञान सिकाउँदै ब्यबहारिक ज्ञानलाई प्राथमिकतामा राखेको उनले बताईन् । कार्यक्रममा अभिभावक रामसुन्दर सापकोटा, रोजिना बर्जाचार्य, विद्यार्थी समिरराज पौड्याल लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा २३ जना बालबालिकालाई दिक्षित गरिएको थियो । किन्डर गार्टेनमा १ सय २३ जना बालबालिकाहरु अध्ययन गरिरहेको प्रिन्सिपल शर्मिला केसी सिंले जानकारी दिईन् ।
समुन्नत पाठशालाको छैटांै स्थापना दिवस तथा चौथो दीक्षान्त समारोह
धुलिखेल/समुन्नत पाठशाला धुलिखेल ४ बखुण्डोल काभ्रेपलाञ्चोकले स्थापनाको छैटौं दिवस तथा चौथो दीक्षान्त समारोह सम्पन्न गरेको छ । काठमाडौ विश्वविद्यालयका उपकूलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १९ जना बालबालिकाहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. भोला थापाले सुमन्नत समाज निर्माणका लागि समुन्नत पाठशालाबाट उत्पादन हुने बालालिकाहरु नैतिक, चरित्रवान, संस्कारयुक्त र ब्यवहारीक हुनु पर्ने बताए । ‘पुर्वाधार निर्माणमा जग बलियो भए मात्रै संरचना बलियो हुन्छन । बालबालिकाहरुको सिकाई र ज्ञान सानै देखि बलियो र गुणस्तरीय बनाउन सकियो भने भविष्यमा थप कक्षाहरुमा प्राप्त हुने ज्ञान मजबुत हुन सक्छ’–प्रा.डा थापाले भने–‘बालबालिकाहरुलाई बालमैत्री वातावरणमा सिकाउन, बुझाउन र उनिहरु भित्र भएको क्षमतालाई प्रस्फुटन गराउन समुन्नतले अझै महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।’ पाठशालाका अध्यक्ष देवकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका स्कुल अफ एजुकेशनका सहायक डिन डा.हेमराज काफ्लेले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि वातावरण र सिकाई महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा पाठशालाकी प्रिन्सिपल अनिता आचार्यले पाठशालाले दिएको शिक्षा, बालबालिकाहरुको सिकाई र बालमैत्री वातावरणका लागि अभिभावकहरुले दिएको विश्वास र भरोसालाई अझै बढावा दिने गरी शिक्षा प्रदान गर्ने बताईन् । ‘बालबालिकाहरुमा धेरै प्रकारका क्षमता हुन्छन्, सबै क्षमतालाई पक्डन सक्ने गरी सिकाई हुन सक्यो भने उसले सहज र सरल तरिकाले आफ्ना प्रतिभाहरु तिखार्न सक्छन्’–प्रिन्सिपल अनिता आचार्यले भनिन–‘समुन्नतले बालबालिकाहरुको समुन्नत विकासका लागि प्रयत्न गरिरहेको छ ।’ कार्यक्रममा दिक्षित भएका बालबालिकाहरुलाई प्रमाणपत्र, मायाको चिनो र फोटो फ्रेम प्रदान गरिएको थियो । सोहि कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । अभिभावकद्धय शारदाकुमारी शर्मा र गोकर्ण पौडेल लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राखेका थिए ।
डिस्कभरी मन्टेश्वरीमा दिक्षान्त समारोह
बनेपा/बनेपामा रहेको डिस्कभरी मन्टेश्वरी विद्यालयले स्थापनाको आठौ अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गणेश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला सापकोटाले बालबालिकाहरुलाई सिकाई र बुझाई सानै उमेर देखि सहज र सरल हुनु पर्ने बताईन् । बनेपा नगरपालिका क्षेत्र भित्र रहेका शैक्षिक संस्थाहरुको गुणस्तर सुधार गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउँदै उपप्रमुख सापकोटाले मन्टेश्वरी तहका बालबालिकाहरुलाई शिक्षा दिने नाममा उनिहरुको क्षमता भन्दा धेरै सिकाई नगर्न, खानपान, सरसफाई तथा हेरचाहलाई ध्यान दिदै बालमैत्री ब्यवहार गर्न अनुरोध गरिन् ।
विद्यालयकी प्रिन्सिपल गिता थापाले बालबालिकाहरुलाई बालमैत्री वातावरणमा सिकाई गरिएको बताउँदै सानै देखि बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गराउने र उनिहरु भित्र भएको क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको बताईन् । २० जना विद्यार्थी दिक्षित गरिएको कार्यक्रममा उनिहरुको आगामी शैक्षिक यात्राको शुभकामना ब्यक्त गर्दै प्रमाणपत्र, मायाको चिनो सहितले दिक्षित गरिएको थियो । दिक्षित भएका बालबालिकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, अभिभावक नारायण निरौला, विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना दिएका थिए । विद्यालयले बालमैत्री वातावरणमा गुणस्तरी शिक्षा प्रदान गर्ने गरी कार्य गरेको विद्यालय संचालक समितिका सचिव शुशिल थापाले बताए ।
सिद्धार्थ बनस्थलीमा बालबालिकाहरु दीक्षित
पनौती/पनौती नगरपालिका वडा नम्वर ८ मल्पिमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट (सार्वजनिक शैक्षिक गुठी) को कक्षा यु.के.जी.तहमा अध्ययनरत ३६ जना विद्यार्थीहरु दीक्षित भएका छन ।
पनौती नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति महेश्वर जंगम प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जंगमले विद्यार्थीहरुको रोजाइ सिद्धार्थ वनस्थली उपयुक्त भएको भन्दै विद्यालयले विद्यार्थीको रोजाई अनुसारको शिक्षा प्रदान गर्नुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासको लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै बालबालिकाको इच्छा चाहना अनुसारको वातावरण तथा सिकाई क्रियाकलाप संचालनमा विद्यालय तथा अभिभावकले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बालबालिकाहरुले नृत्य, गायन, फेसन सो लगायतका विविध प्रस्तुति गरेका थिए । कार्यक्रममा अभिभावकहरुलाई मनोरञ्जन गाराउने उदेश्य सहित विभिन्न खेलहरु खेलाइएको थियो । पूर्व प्रा.वि तहका शिक्षकहरुलाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे बापत सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल विमल कार्की, प्राज्ञिक संयोजक प्रविण दाहाल, दश जोड दुुई इन्चार्ज राजकुुमार खुलाल, दीक्षित बालबालिकाका अभिभावक, विद्यालयका शिक्षकहरुको उपस्थिति रहको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयकी प्राचार्य रेस्मा थापाले गरेकी थिइन् । कार्यक्रम संचालन पूर्व प्रावि इन्चार्ज गीता लामाले गरेकी थिइन् ।
पनौतीको सामुदायिक बोर्डिङ्ग स्कुलमा अभिभावकलाई अभिमुखिकरण गर्दै बालबालिकाहरु दिक्षित
पनौती/सामुदायिक बोर्डिङ्ग स्कुल पनौती ४ टौखालमा कक्षा नर्सरी देखि युकेजीसम्मको परीक्षाफल प्रकाशन गर्दै युकेजी कक्षाका विद्यार्थीको दिक्षान्त समारोह आयोजना गरेको छ भने कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको बार्षिक परीक्षाको परिक्षाफल प्रकशनसँगै अभिभावकहरुका लागि अभिमुखिकरण गरिएको छ ।
विद्यालयका प्रिन्सिपल पूर्णकुमार श्रेष्ठले विद्यालयले पछिल्लो अवस्था तथा बालबालिकाहरुको आगामी शैक्षिक सत्रका लागि विद्यालयले तयार गरेका योजना, बालमनोविज्ञानमा विद्यालय र अभिभावकहरुले खेल्नु पर्ने भूमिका लगायतका विषयमा अभिभावकहरुलाई अभिमुखिकरण गरिएको बताए । सोहि अवसरमा बाल विशेषज्ञ इन्द्रकुमार प्रसाईले बालबालिकाहरुको मनोविज्ञानसँग शिक्षक र अभिभावकहरुले समन्वय र सहकार्य गर्न अपनाउनु पर्ने विधी तथा बालबालिकाहरुलाई बुझ्ने शैलीका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा वडा नम्वर ४ का अध्यक्ष दिपक दाहाल, वडा नम्वर ७ का अध्यक्ष सविन ताम्राकार, कालीजंग गण पनौतीका मेजर विष्णुभक्त श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, निर्देशक समितिका अध्यक्ष चन्द्रकुमार महाजु, वडा सदस्य सविता थापा, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज केसी, अभिभावक संघका अध्यक्ष प्रकाश बञ्जारा, विद्यालयका निर्देशक ओमकृष्ण श्रेष्ठ लगायतले विद्यालयले प्रदान गरेको शैक्षिक कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
अभिमुखिकरण कार्यक्रममा विज्ञान सहजकर्ता दिपक भट्टराई, शिक्षक अभिभावक संघका सदस्य लिलाबहादुर तामाङ, विश्वनारायण श्रेष्ठ, विद्यालय ब्यवस्थापन समिति सदस्य मिना कोईराला, इन्द्रेश्वर क्याम्पसका प्राध्यापक सुमित्रा श्रेष्ठ, जेष्ठ नागरिक अर्जुन बस्नेत लगायतको सहभागिता रहेको थियो । करिव ३ सय अभिभावक सहभागि कार्यक्रममा बालबालिकाहरु अध्ययन गर्न रुची नगर्ने, मोवाईल तथा सामाजिक सञ्जाल लगायतका प्रविधीका नाममा अल्क्षी भएका जस्ता विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा २० वर्ष सेवा पुरा गरेकी शिक्षिका भगवती सापकोटालाई विदाई गरिएको थियो । दिक्षित बालबालिकाहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।
बालबाटिकामा प्रि–प्राईमरी सेक्सनका विद्यार्थी दिक्षित
बनेपा/बालबाटिका विद्या मन्दिर हाई स्कुल बनेपाले प्रि–प्राईमरी सेक्सन (प्ले ग्रुप, नर्सरी, एलकेजी, यु.के.जी) सम्मका विद्यार्थीहरुलाई दिक्षित गराईएको छ । नीजि विद्यालयहरुको छाता संगठन प्याब्सनका केन्द्रिय उप महासचिव भिमसेन केसी, विद्यालयका संस्थापक निर्देशक रवि श्रेष्ठ, प्रिन्सिपल रजना प्रधान श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र सहित दिक्षित गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल रजना प्रधानले बालबालिकाहरुको शैक्षिक विकाससँगै अनुशासित वातावरणमा शिक्षा प्रदान गर्न बालाबटिका स्कुलले निरन्तर प्रयास गरिरहेको बताईन् । ‘हामीले दक्ष, ब्यवहारीक र अनुशासित विद्यार्थीहरु उत्पादन गरिरहेका छौं’–प्रिन्सिपल रजना प्रधान श्रेष्ठले भनिन–‘बालबालिकाहरुलाई कडा मेहनत र अनुशासन आवश्यक छ । त्यो बालबाटिकाले प्रदान गरिरहेको छ ।’ बालबाटिका विद्यालयले विद्यार्थीहरुलाई आवश्यकता अनुसारका प्रविधि र प्रयोगात्मक शिक्षा प्रदान गरिरहेको संस्थापक निर्देशक रवि श्रेष्ठले बताए । अभिभावक, शिक्षक, विद्यार्थी र उनिहरुका लागि आवश्यक पर्ने शैक्षिक वातावरण प्रदान गरिरहेको संस्थापक निर्देशक श्रेष्ठले बताए ।
कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीले नीजि विद्यालयहरुका चुनौतीसँगै अभिभावकहरुको माया र विश्वासलाई कायम राख्न सफल भएकोमा बालबाटिका विद्यालयलाई बधाई तथा शुभकामना दिएका थिए । बालबाटिकाले २०४६ साल देखि काभ्रेपलाञ्चोक जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्याम भुजेल, पुर्व अध्यक्ष एवं नमोबुद्ध माविका प्रिन्सिपल सत्यनारायण श्रेष्ठ लगायतले विद्यालयले पु¥याएको योगदान सहित आगामी शैक्षिक सत्रको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रशासनिक प्रमुख डा. प्रेरणा श्रेष्ठ, अनमोल श्रेष्ठ लगायतले दिक्षित भएका बालबालिकाहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
सोहि अवसरमा कक्षा १ देखि ६ सम्मका बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।









