अवधी सकिन चार महिना बाँकी हुँदा २२ प्रतिशत सकियो काम
तेमाल, कानपुर/भकुण्डे–मेच्छे (नमोबुद्ध–तेमाल) सडक खण्ड निर्माण कार्यले गति नलिएको भन्दै स्थानीयले चर्काे विरोध गरे पछि जिल्ला समन्वय समिति काभ्रेको नेतृत्वमा सडक निर्माण कार्यको अनुगमन गरिएको छ । सडक निर्माण अलपत्र हुँदा स्थानीयहरुले भोग्नु परेका समस्याका बारेमा गुनासो सुन्दै समन्वय समिति प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुन्साङ लामा, तेमाल गाउँपालिका उपाध्यक्ष डिएम लामा, जिल्ला समन्वय समिति सदस्य रस्मिता भण्डारी, वडा अध्यक्षहरु, सडक विभागका इन्जिनियरहरुले समयमै सडक निर्माणका लागि निर्माण ब्यवसायीलाई निर्देशन दिएका थिए ।
२०८१ साउन १५ गते म्याद सकिने उक्त सडक आयोजनामा २२ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । निर्माण ब्यवसायीले उक्त अवधीमा दुई खण्डमा १३ किलोमिटर सडक चौडा, नाली, वाल सहित कालोपत्रे गर्नु पर्नेछ । उक्त अवधीमा सडक आयोजनाका सबै कार्य सम्पन्न नहुने निर्माण ब्यवसायीले बताएका छन् । संयुक्त कम्पनीका नाममा आयोजना जिम्मा लिएको भए पनि एउटा साझेदार कम्पनीले समयमै कार्य नगरिदिँदा निर्माण कार्यमा ढिलाई भएको निर्माण ब्यवसायीले बताए । स्थानीयहरुले सडक खन्ने र निर्माण सामाग्रि समेत सडकमा मनलाग्दी राखिदिँदा स्थानीयहरुले एम्बुलेन्स समेत सहज प्रयोग गर्न नपाएको गुनासो गरेका थिए । ‘सडक छेउमा रहेको सडक मापदण्ड भन्दा बाहिर रहेका जमिनमा निर्माण सामाग्री जथाभावी राखिँदा खेति गर्न समस्या भयो’–स्थानीय गिता चिमौरियाले भनिन–‘समयमै सडक बन्ला र अवरोध हट्ला भनेको २ वर्ष वितिसकेको छ । निर्माण ब्यवसायीको चरम लार्पवाहीले नागरिकहरु धुलो, हिलो र सडकमा असहजताका कारण दुर्घटनाको जोखिममा परेका छन् ।’
जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले सडक निर्माणमा भएको चरम लार्पवाहीका बारेमा ध्यानाकर्षण गराउँदै साझेदार निकाय सडक विभागले कार्य योजना निर्माण गर्न लगाई त्यसको प्रगतिका बारेमा दैनिक जानकारी लिन र समयमा कार्य सम्पन्न गर्न लगाउन निर्देशन दिए । निर्माण ब्यवसायीका कारण नागरिकहरुले भोगिरहेका दुख र हैरानी हुन नदिई सडक निर्माण कार्य जारी राख्न निर्देशन दिए । नगर प्रमुख कुन्साङ लामाले सडक निर्माण सहज बनाउन, समयमै सम्पन्न गर्न र आवश्यक पर्दा नगरपालिकाले समन्वय गर्ने बताए । सडकमा परेका केहि थान पोल, केहि रुख र घरहरुले निर्माण कार्यमा असहज भएको बताउँदै त्यसमा सहजिकरणका लागि निर्माण ब्यवसायीले स्थानीय सरकारलाई अनुरोध गरेका थिए । तेमाल गाउँपालिका उपाध्यक्ष डिएम लामाले नमोबुद्ध क्षेत्रमा भएको निर्माण कार्यको ढिलाईले तेमाल जान असहज भएको बताए । साथै तेमालसम्म जाने उक्त सडकको निर्माण कार्य चाँडै सम्पन्न गर्न अनुरोध गरे ।
अनुगमनका क्रममा सडक निर्माण क्षेत्रमा जनशक्ति र सामाग्री कम भएको, निर्माण ब्यवसायीले लार्पवाही गरेको, दुर्घटना बढेको र धुलो तथा सडक अप्ठ्यारो हुँदा सकस झेलिरहेको भन्दै स्थानीयहरुले अनुगमन टोलीको ध्यानाकर्षण गराएका थिए ।
सार्वजनिक जग्गामा निर्माण गरिएका ५९ घर भत्काईने
जनप्रतिनिधि विहिन अवस्थामा सार्वजनिक कब्जा गरी पक्की संरचना समेत निर्माण गरिएको साविक पोखरीनारायणस्थानका हालको तेमाल गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्वर ५ का ५९ घर घत्कने भएका छन् । ‘भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर टहरा सहितका संरचना भत्काउन ३५ दिने सूचना जारी गरिएको छ’–गाउँपालिका उपाध्यक्ष डिएम लामाले भने–‘सडक विस्तारका क्रममा सबै संरचना भत्कने छन् । त्यसका लागि स्थानीयहरुलाई समयावधी भित्रै घर टहरा हटाउन अनुरोध गरिएको छ ।’ उक्त स्थानमा रहेको सार्वजनिक पोखरीलाई पहिलाकै अवस्थामा रहन दिन स्थानीयले अनुरोध गरेका छन् । पोखरी भित्र निर्माण गरिएका पक्कि कंक्रिट सहितका संरचनाले पुराना संरचनाहरु नष्ट हुने क्रम बढेको स्थानीयले बताए ।
स्थानीय तेमाल सिं तामाङले २०५९ साल पछि जनप्रतिनिधि नभएको अवस्थामा आफुहरुले घर निर्माण गरेको बताए । सार्वजनिक जग्गामा निर्माण गरिएको भए पनि गाउँपालिकाले उक्त घरहरु भत्काउन नहुने उनले बताए । ‘पोखरीनारायणस्थानमा पहिलो पटक पक्की घर निर्माण गरेर बजार शुरु गर्ने म नै हूँ’–उनले भने–‘अहिले बाटो विस्तारका क्रममा यि पक्कि घरहरु भत्काउन सूचना जारी भए पनि हाम्रो तर्फबाट घर छाडेर बाटो बनाउन अनुरोध गरेका छौं ।’ गाउँपालिकाले जारी गरेको सूचना भित्र घरहरु भत्कन कठिन हुने उनले बताए । तेमालका ऐतिहासिक पोखरीहरु पुरिने तथा पोखरी भित्रै पक्कि संरचना निर्माणको क्रम भने रोकिएको छैन । चापाँखोरी कुरुवास वडा कार्यालय अघिको पोखरी भित्र अर्काे संरचना निर्माण गरिएको छ ।









