2026 April 27/ 10:52: 47pm

बनेपा/तेजगंगा बहुमुखी क्याम्पस पनौतीको पाँचौ क्याम्पस सभा अध्यक्ष शिबहादुर देउजाको अध्यक्षतामा तथा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ७६ जना क्याम्पस सभाका सदस्य रहेको तेजगंगा क्याम्पसमा चालु शैक्षिक सत्रमा ६ सय ५२ जना विद्यार्थी विभिन्न तहमा अध्ययन गरिरहेका छन् । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रको शैक्षिक गुणस्तर सुधान गर्न तथा उच्च शिक्षामा तेजगंगाले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘स्थापनाका समयमा दक्षिण पूर्वी गाविसका नागरिकहरुका लागि कक्षा ११ अध्ययन गर्न पनि बनेपासम्म जानु पर्ने अवस्था थियो’–नगर प्रमुख भण्डारीले भने–‘सशस्त्र द्वन्द्वको मध्य समयमा महिलाको नेतृत्वमा आफ्नै बाबु आमाको स्मरणमा क्याम्पस शुरु गरी यो क्षेत्रको शैक्षिकस्तर सुधारका लागि गरेको प्रयास प्रशंसनिय छ ।’ अवको चुनौती र आगामी दिनमा क्याम्पसले खेल्ने भूमिकाका बारेमा समेत योजना बनाउन नगर प्रमुख भण्डारीले सुझाव दिए । 
    सभामा संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले तेजगंगा बहुमुखी क्याम्पसले गरेका कार्यक्रमहरुको बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । सभामा आन्तरिक गुणस्तर सुनिश्चितता समितिको प्रतिवेदन, परीक्षा समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, अतिरिक्त कृयाकलाप समितिले गरेका गतिविधिको प्रतिवेदन, छात्रबृत्ति समितिको प्रतिवेदन, अंग्रेजी विभागले तयार गरेको प्रतिवेदन, फिल्डमा गरिएको अध्ययनको प्रतिवेदन, अभिमुखिकरण कार्यक्रमहरुको प्रतिवेदन र क्याम्पसका विविध समिति तथा ईकाईहरुले गरेका प्रतिवेदन प्रस्तुत गरिएका थिए । संचालक समितिबाट स्विकृत प्रतिवेदनहरु सभाबाट सर्वसम्मत पास भएका छन् । 
    सभामा विश्व विद्यालय अनुदान आयोगबाट २०७९ असार २९ गते क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको जानकारी गराईएको थियो । क्याम्पसको शैक्षिक अवस्था, विद्यार्थी उर्तिणदर, तहगत उत्तिर्ण दर, शैक्षिक कार्यक्रमहरु, पढाई छाड्ने प्रवृत्ति, शिक्षण विधी, भौतिक पूर्वाधारको अवस्था, आर्थिक प्रगति विवरण, सामाजिक सम्वन्धको अवस्था लगायतका विषयमा समिक्षा गरिएको थियो । पछिल्लो समय विद्यार्थीहरु भर्ना भए पनि क्याम्पस आउन छाडेको, नियमित अध्ययनमा ध्यान नदिएको जस्ता समस्या देखिन थालेको सभामा बताईएको थियो । 
    सभामा क्याम्पसले स्पष्ट लक्ष्य र ध्येयका साथ अगाडी बढिरहेको अवस्थामा आगामी दिनमा क्याम्पस सभालाई अझ सकृय र जिम्मेवार बनाउने, क्याम्पसका सरोकारवालाहरुसँगको अन्र्तक्रिया गर्ने, विश्व विद्यालय अनुदान आयोग जस्तै क्याम्पसलाई सहयोग गर्न सक्ने अन्य दातृ निकायहरुको खोजी गर्ने, दिर्घकालिन र अल्पकालिन योजनाहरु निर्माण गरी सोहि अनुसारका गतिविधिहरु गर्ने, सम्भावना र अवसरहरुको उपयोग गर्ने रणनीति बनाएको संस्थापक क्याम्पस प्रमुख कार्कीले बताईन् । सुविधायुक्त पुस्तकालय र प्रयोगशालाको ब्यवस्थापन, विचमा पढाई छाड्ने प्रवृत्ति, विद्यार्थी पलायन, रोजगारीको समस्या, पर्याप्त भौतिक पूर्वाधारको विकास, खेलमैदानको ब्यवस्था, यातायात तथा प्राविधिक शिक्षाको आवश्यकता र अपरिहार्यता भएको सहायक क्याम्पस प्रमुख भिमसेन केसीले बताए । सभाले आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तावित बार्षिक बजेट तथा कार्यक्रम सर्वसम्वतले पास गरेको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष राजाराम सैंजु तथा सभाका सदस्यहरु, संचालक समिति सदस्यहरु, सल्लाहकारहरुको सहभागिता रहेको थियो ।