बनेपा/बनेपा नगर ख्रीष्टियन समुदाय काभ्रेले ख्रीस्ट येशुको क्रुसीकरणको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बनेपा नगरपालिका वडा नम्वर ७ को वडा कार्यालय अगाडि आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रगत दान गरेका छन् ।
हरेक वर्ष ख्रीष्टियन समुदायले येशुको जन्म र मृत्युका दिन विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् । येशुको जन्म दिनको अवसरमा क्रिसमस र मृत्यु भएको दिनमा क्रुसीकरणमा विविध कार्यक्रम आयोजना हुँदै आएका छन् । बनेपा ख्रीस्टियन समुदायले आयोजना गरेको कार्यक्रममा नगर अध्यक्ष रामचन्द्र बिसुन्खेको अध्यक्षता रहेको थियो भने काभ्रे ख्रीस्टियन समुदायका जिल्ला अध्यक्ष ग्रुवेन राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । क्रुसीकरणको अवसरमा आईतबार विहान ख्रीस्टियन समुदायले बनेपामा बृहत्त शान्ति तथा सद्भाव ¥यालीको आयोजना गरेका थिए । खुल्ला रक्तदान कार्यक्रमा सामुदायिक सचेतना नेपाल र दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह–आयोजना रहेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा जनगणना २०७८ अनुसार इसाई धर्म मान्नेहरुको संख्या ७ हजार ६ सय ६४ रहेको छ । कार्यक्रमको संयोजन बनेपा ख्रीस्टियनका उपाध्यक्ष पास्टर राजन परियारले गरेका थिए ।









