भकुण्डे, नमोबुद्ध/प्रादेशिक अस्पताल मेथिन्कोटले सामाजिक परिक्षण गरेको छ । अस्पतालले प्रदान गरेको सेवा, सुविधा, गुणस्तर, सुधारका विषय तथा नागरिकहरुको धारणाका बारेमा समुदायले गरेको अनुभवका सन्दर्भमा स्थानीय तह, सरोकारवाला निकाय र सेवाग्राहिसँग अन्र्तक्रिया गरेको थियो । सामाजिक परिक्षणमा उठेका सवालका बारेमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालको सेवा सुधारका लागि प्रतिवद्धता ब्यक्त गरेका थिए ।
नगर प्रमुख कुन्साङ लामाले अस्पतालको सेवामा लार्पवाहि नगर्न, नागरिकहरुका गुनासा आउन नदिन तथा कुनै पनि प्रकारका सेवामा कमि आउन नदिन सुझाव दिए । ‘अक्सिजन प्लान्ट बन्द हुँदा नागरिकहरुले भोगेको समस्याका बारेमा अस्पताल ब्यवस्थापन समितिले गरिरहेको कार्यलाई सहजीकरण गर्न नगरपालिकाले आवश्यक पहल गरेको छ’–नगर प्रमुख कुन्साङ लामाले भने–‘अस्पतालले गरेको आम्दानी खर्च पारदर्शी बनाउनुस । अस्पतालले प्रदान गर्ने सेवामा कन्जुस्याई नगर्नुस । प्रदेश सरकारको सहयोग र समन्वय पुगेन भने नगरपालिकाले सहयोग गर्ने छ ।’
सेवाग्राहिहरुले औषधी नियमित नभएको, भएका औषधीहरु भन्दा नभएका औषधीहरुको आवश्यकता हुने गरेको, विशेषज्ञ सेवाको शुल्क धेरै भएको, एम्बुलेन्स शुल्क महङ्गो भएको, नियमित उपचारलाई ब्यवस्थित गर्न ओपिडी कक्ष थप गर्न, विशेषज्ञ सेवा बढाउन, हरेक प्रकारका रोगहरुको उपचार गर्न, सिटी स्क्यान लगायतका सेवा उपलब्ध गराउन सुझाव दिएका थिए । सेवा प्रदायक चिकित्सक तथा कर्मचारीहरुले अस्पताल ब्यवस्थापन समितिले आवश्यक पर्ने औषधी समयमा खरिद नगरिदिँदा भएका समस्या र सेवाग्राहिहरुले भोग्नु परेका समस्या समाधानमा ध्यान दिन सुझाव दिए । सुत्केरी ब्यथा लागेका महिलाहरुको रिफर गर्दा बाटोमा नै सुत्केरी हुनु परेको, एक्सरे गर्दा पेपर नभएको, नियमित लेखा शाखाको कार्य संचालन नहुँदा दैनिक संचालन खर्च तथा अन्य भैपरी आउने खर्च हुन नसकेको, आर्थिक वर्षको चार महिना मात्रै बाँकी हुँदा लेखा शाखाकै कारण ३२ प्रतिशत भन्दा खर्च हुन नसकेको, कर्मचारीहरुले नियमित पारिश्रमीक पाउन नसकेको, पूर्वाधारका नाममा अनावश्यक खर्च गरिएको, आफ्नै भवन निर्माणका लागि पहल नगरेको जस्ता गुनासा गरेका थिए ।
अस्पतालका मेसु डा.मधुकर दाहालले २५ शैयाको अस्पताललाई ५० शैयामा विस्तार गरे पछि धेरै कुराको अभाव देखिएको बताए । अहिले विस्तारै सबै ब्यवस्थापन हुँदै गएको र त्यसलाई सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरे । अक्सिजन मेशिन एक वर्षमा नै विग्रिएकाले मर्मतका लागि पटक पटक आपुर्ति शाखामा पत्र लेखे पनि मर्मत हुन नसकेको उनले बताए । औषधी खरिदका लागि लेखा शाखाकै कारण समस्या भएको बताउँदै दाहालले अस्पतालले नियमित कार्य गर्ने लेखा हेर्ने कर्मचारी प्राप्त नगरेका कारण धेरै समस्या उत्पन्न भएको बताए । विरामीहरुले प्राप्त गर्नु पर्ने सेवामा गुणस्तर बढाउन भएका उपलब्ध श्रोत, साधन र जनशक्तिलाई भरपुर उपयोग गरिएको डा.खनालले बताए ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले नागरिकहरुले प्राप्त गरेको सेवालाई अझै गुणस्तर र प्रभावकारी बनाउन अझै शशक्त रुपले समिति सक्रिय हुने बताए । ‘अस्पतालबाट प्रवाह हुने सेवालाई प्रभावकारी रुपमा संचालन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन दिन्छु’–अध्यक्ष खनालले भने–‘अस्पतालमा भएका अभावहरुलाई कम गर्दै दक्ष जनशक्तिबाट गुणस्तरीय सेवा प्रदान गर्ने छौं ।’ अध्यक्ष खनालले जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, महिला तथा बालबालिकाहरुले प्राप्त गर्ने सुविधालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता ब्यक्त गरे । अक्सिजन प्लान्ट, एम्बुलेन्स, इमरजेन्सी विभाग, एक्सरे सेवा, फार्मेसी, दर्ता, विमा लगायतका विभागहरुले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाईने अध्यक्ष खनालले बताए । अस्पतालका सेवा र आय ब्ययलाई पारदर्शी बनाउन लेखा शाखाका कर्मचारीलाई नियमित उपस्थित हुने गरी ब्यवस्थापनका लागि अनुरोध गरिएको उनले बताए ।
कार्यक्रममा डा. मधुकर दाहाल, डा.हिमाल खनाल, हेमन्त खनाल, स्थानीयहरु माधव कँडेल, अस्पतालका पुर्व अध्यक्ष उद्धवप्रसाद काफ्ले, युवा परिषदका उपाध्यक्ष रामेश्वर अधिकारी, स्थानीय उप्रेति, अस्पताल ब्यवस्थापन समिति सदस्य तथा वडा अध्यक्ष रमेश तिवारी लगायतले अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।









