पनौती/पनौती नगरपालिका वडा नम्वर ५ बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्हमोत्सव आयोजना गरिने भएको छ । बैशाख १७ देखि १९ गतेसम्म आयोजना गरिने दोश्रो ब्रम्हमोत्सवको तयारी शुरु गरिएको छ ।
श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अन्र्तगत २०८१ बैशाख १६ गते पुर्वाङ्ग हुनेछ । पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कारारोपण ब्रम्हणवरण, अग्निप्रतिष्ठा, ध्वजारोहण हुनेछ । बैशाख १७ गते द्धारतोरणपुजनम, चतुस्थानार्चन, नित्यहोम, नित्यपूर्णाहुति हुनेछ । मध्यान्ह पछि श्रीदेवी, भदैदेवी बल्लभ श्री मुक्तिनाथको यात्रोत्सव हुनेछ । उक्त यात्रा नगर परिक्रमा गर्ने आयोजक समितिले जानकारी दिएको छ । बैशाख १८ गते नित्यपुजाका साथै महापुर्णाहुति, र मध्यान्ह पछि १०८ कलशद्वारा श्रीदेवी, भद्रदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको महाभिषेक, श्रीपुष्पयागम, द्धदशाराधना, सत्तावरण, ध्वजावरोहण, सम्भावना हुनेछ । बैशाख १९ गते मुक्तिनाथ भगवानको महाभिषेध हुनेछ ।
२०७४ साल असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथ मन्दिर २०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो । समितिका संस्थापक अध्यक्ष गोपालबहादुर थापाले मन्दिरको परिकल्पना, स्थापना र निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । मुक्तिनाथ धाममा नियमित पूजाको विधि गरिएको छ । विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।









