2026 April 27/ 10:52: 36pm

    बनेपा/परिवारले समेत काबुमा राख्न नसकेका गलत संगतमा फसेका एक युवकले ८३ बर्षिया महिलाको हत्या गरेका छन् । हत्या गरेको २६ दिन पछि प्रहरीले शंकास्पद गतिविधीलाई निगरानीमा राख्दै हत्यामा संलग्न युवकलाई पक्राउ गरेको छ । 
    ‘फरक फरक जिल्ला र ठेगाना भएका दुई ब्यक्ति एउटै घरमा भाडामा बस्दै आएका थिए । दुबै एक्ला एक्लै बस्ने क्रममा युवकले राति राति महिलाको कोठामा गएर दुःख दिने र धम्कि समेत दिने गरेका थिए । हत्या गर्ने दिन विहानै युवक महिलाको कोठामा प्रवेश गरे । महिला सुतिरहेको अवस्थामा थाहा पाउन सकिनन् । युवकले महिलाको छातीमा घुँडा राखेर मुख थुनिदिए । कानमा लगाएका दुई वटा रिङ फुकाले । नाकमा भएको फुली लिएनन् । कोठामा भएका अन्य सामान पनि लगेनन् । त्यसपछि उनि कोठामा पनि आएनन्’– ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले भने–‘रिङ लुटेर विक्री गरेका युवकले खर्च गरेको रकम, उनका दैनिकका कृयाकलापहरुलाई समेत निगरानीमा राखेकाले पक्राउ गर्न सफल भयौं ।’ 
    २०८० फागुन १७ गते विहान हत्या गरी भागेका युवा चैत्र १३ गते पक्राउ परेका थिए । धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोहि घरमा डेरा गरी बसेका सुनसरी जिल्ला धरान उमहानगरपालिका वडा नम्वर ८ मा घर भएका २९ बर्षिय युवक अभिषेक अचार्जुले हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले बताए । महिलाको कानमा लगाएका सुनका रिङ लुटेर भागेका थिए । फागुन १७ गते विहान लक्ष्मी तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएका रहेछन् । लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैयाँ लिएका थिए । उक्त रकमबाट अभिषेकले साथीहरुलाई तिर्नु पर्ने केहि रकम तिरेको बयान दिएका छन् । 
    प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ । डिएस्पी सुवेदीका अनुसार धुलिखेल ९ घर भएकी लक्ष्मी विगत एक वर्ष देखि बसन्त श्रेष्ठको घरको भुई तल्लामा भाडामा बस्दै आएकी थिईन् । सोहि तल्लामा अभिषेक पनि बस्दै आएका थिए । अभिषेकका बाबु आमा लगायत बनेपामा हार्डवेयर ब्यवसाय गर्दै आएका छन् । घर परिवारले नियन्त्रणमा राख्न नसकेका उनको संगत गलत ब्यक्तिहरुसँग थियो । कुनै पेशा ब्यवसाय नगरी हल्लि हिडेका ति युवाले लक्ष्मीलाई मारेर निर्धक्क हिडिरहेका थिए । लक्ष्मीका आफन्त भए पनि एक्लै डेरामा बस्दै आएकी थिईन् । 
    अन्य समयमा पनि लक्ष्मीसँग ति युवाले रातको समयमा पानी माग्ने, खाने कुरा माग्ने र नदिए धम्क्याउने गरेको सोहि घरमा डेरामा बसेकाहरुले प्रहरीलाई जानकारी गराएका थिए । फागुन १७ गते विहानै लक्ष्मीलाई मारेर फरार भए पनि लक्ष्मीको शव फागुन १८ गते मात्रै फेला परेको थियो । दुई दिनसम्म लक्ष्मीलाई नदेखेको अझ ढोका समेत भित्रैबाट लगाएको देखे पछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । लक्ष्मीलाई मारे पछि भने युवक कोठामा आउन छाडेका थिए भने केहि शंकास्पद गतिविधि समेत देखाएका थिए । तर प्रहरीले उनको निगरानी बढाएको थियो । प्रारम्भिक अनुसन्धानले पुष्टि भए पछि उनलाई पक्राउ गरिएको डिएस्पी सुवेदीले बताए ।