2026 April 27/ 10:53: 13pm

धुलिखेल/जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदी बन्दीहरुको तनाव ब्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श उपलब्ध गराईएको छ । 
    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको आयोजनामा आयोजित तीन दिने कार्यक्रम आज विहीबार समापन गरिएको हो । ‘विविध कारणले जेल जीवन विताउनु परेका कैदी बन्दिहरुलाई हुने तनाव तथा मनोसामाजिक परामर्श गराउने उदश्यले योगाभ्यास तथा मनोसामाजिक परामर्श कार्यक्रम आयोजना गरिएको हो’– आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. वशंवदा कौण्डिन्न्यायनीले भनिन–‘२ सय ८९ जना कैदी बन्दीहरुले उक्त योगाभ्यासमा सहभागि भएका थिए ।’ चैत्र १३, १४ र १५ गते सम्म आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 
    तीन दिने कार्यक्रममा प्रशिक्षकद्वय योगाचार्य श्रीराम पाण्डे तथा जीवन विज्ञानका बिन्दा आचार्यले प्रशिक्षित गरेका थिए । कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, कारागार कार्यालय प्रमुख परशुराम थापा, आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. वशंवदा कौण्डिन्न्यायनी लगायतले कैदी बन्दीहरुले भोग्नु परेको समस्याका कारण उत्पन्न हुने तनाव ब्यवस्थापन गर्ने विधी र प्रकृयाका बारेमा जानकारी गराएका थिए । जहाँ रहँदा पनि जीवनलाई सकारात्मक सोचका साथ अघि बढाउन सहभागिहरुले अनुरोध गरेका थिए । 
    आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई तनाव ब्यवस्थापन सम्वन्धी योगाभ्यास गराईरहेको छ । यस अघि जिल्लाका कार्यालय प्रमुखहरुलाई पनि योागाभ्यास गराएको थियो ।