धुलिखेल नगरपालिकाले आठ महिनामा शिविर मार्फत विभिन्न रोगसँग सम्बन्धित १० हजार नागरिकलाई सेवा प्रदान गरेको छ ।
धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर २ रवीओपी स्वास्थ्य चौकीमा एक दिने शिविर सम्पन्न भएको छ । धुलिखेल नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा नेपाल परिवार नियोजन संघ बनेपा शाखाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
धुलिखेल नगरपालिका वडा न २ का वडा अध्यक्ष अर्जुन न्यौपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिता खनालले धुलिखेल नगरपालिकाले स्वास्थ्यका कृयाकलापहरुमा उल्लेख्य कार्य गर्दै नागरिकको स्वास्थ्य कार्यमा आफुलाई अब्बल साबित गरेको बताईन् । स्वास्थ्य शिविरमा ७२ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरि पाठेघरमा हुने रोगको उपचार, आङ खसेका महिलाको पाठेघरमा रिङ राख्ने कार्य तथा यौन रोगको उपचार र पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी.ले बताए । धुलिखेलले स्वस्थ शहर कार्यक्रम मार्फत नागरिकको स्वास्थ प्राथमिकतामा राखेको उल्लेख गर्दै महिलाहरुको स्वास्थ समस्या समाधान गर्न वडा कार्यालय सधै तत्पर रहेको वडा अध्यक्ष न्यौपानेले बताए । शिविरमा महिलाहरुको रोग लुकाएर बस्दा पाठेघरको समस्या देखिने गरेको स्वास्थ्य अधिकृत शरदचन्द्र थापाले बताए ।
१ सय १८ जनाले लिए सेवा
धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १२ को शंखुपाटीचौर स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघर परिक्षण तथा आङ खस्ने समस्याको परिक्षण सहित उपचार शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य चौकीमा आयोजित शिविरमा १ सय १८ जना महिलाहरुले उक्त सेवा प्राप्त गरेका छन । स्वस्थ शहर अभियानमा कार्य गर्दै आएको धुलिखेल नगरपालिकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउँदै लगेको छ । शिविरमा शंखु, बतासे, काभ्रे सहित अन्य क्षेत्रबाट समेत महिलाहरुले सेवा लिएको स्वास्थ्य अधिकृत सरोज थापाले बताए । स्वास्थ्य चौकी प्रमुख अञ्जु अधिकारीले धुलिखेल वडा नम्बर १२ का महिलाहरुको स्वस्थ्य प्रति स्वास्थ्य चौकी सधै सचेत रहेको र विविध सेवाहरु सञ्चालन गर्दै आएको बताईन् । धुलिखेल वडा नं १२ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद लामिछानेले वडाका आम नागरिकलाई स्वास्थ्य चौकी तथा नगर स्वास्थ्य शाखाले उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा खुशी ब्यक्त गरे । नगर कार्यपालिका सदस्य कमला काफ्लेले महिलाको स्वास्थ्य तथा स्त्री रोग सम्वन्धी शिविरबाट घर छोडेर बाहिर निस्कन नसकेका महिलाहरुमा स्वास्थ्य जागरण गराएको तथा सेवा उपभोगको पहुँच बढेकोमा खुसी ब्यक्त गर्दै धुलिखेल नगरले स्वस्थ शहर अभियान मार्फत जनताको आधारभूत स्वास्थ्य सेवामा अधिकार सुनिश्चित गराएको बताईन् । नेपाल परिवार नियोजन संघ बनेपा शाखा काभ्रेका प्रमुख रमेश श्रेष्ठले धुलिखेल नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरबाट नागरिकहरु लाभान्वित भएकोमा खुशी ब्यक्त गरे । शिविरका लागि नेपाल परिवार नियोजन संघको सहयोग रहेको थियो ।
धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी.ले शंखुपाटीचौर स्वास्थ्य चौकीले अत्यन्त सह्राहनिय कार्य गर्दै नगरको स्वास्थ्य लक्ष्य प्राप्तिका लागि हरेक पल लागि परेकोमा कर्मचारीहरुको प्रशंसा गर्दै यस्ता शिविरले महिलाको स्वास्थ्य समस्या समाधानमा सहयोग पु¥याउने बताए । धुलिखेल नगर स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३५ वटा भन्दा बढि आँखा, दाँत तथा क्षयरोग लगाएका रोगहरुको तथा एकिकृत स्वास्थ्य सेवाका विषेशज्ञ शिविर सञ्चालन गरी १० हजार भन्दा बढि नागरिकलाई विभिन्न वडाका बस्ति बस्तिमा सेवा पु¥याएको शाखा प्रमुख केसीले बताए । स्वास्थ्य कार्यालय काभ्रेका प.हे.न. हरीकला थापाले धुलिखेल नगरले जिल्लामा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्दै गत आ.ब. मा प्रथम स्थान हासिल गरेको स्मरण गर्दै महिला स्वास्थ्य प्रति तथा बालबालिकाको स्वास्थ्यमा बिशेष जोड दिएकोमा आफुलाई खुशी लागेको बताईन् । शिविरमा वडा अध्यक्ष मोहनप्रसाद लामिछाने, नगर कार्यपालिका सदस्य कमला काफ्ले, नेपाल परिवार नियोजन संघ बनेपा शाखा काभ्रेका प्रमुख रमेश श्रेष्ठ, वडा सदस्यहरु, स्वास्थ्य चौकी ब्यवस्थापन समिति सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियो ।
वडा नम्वर ४ मा सुत्केरी महिलालाई पोषण सामाग्री
धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ बखुण्डोल आधारभुत स्वास्थ्य संस्थामा वडा नम्वर ४ का सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ ।
सुत्केरी महिलाहरुको स्वास्थ्यलाई मध्य नजर गरेर स्वास्थ्य संस्था र महिलाहरुको स्वास्थ्य सेवामा पहुँच बृद्धि गरि स्वस्थ शहर अभियान सफल बनाउन वडा मार्फत सुत्केरी पोषण सेवा कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष उत्तम तिमल्सिनाले बताए । नगरका विभिन्न वडाहरुमा गर्भवती तथा सुत्केरी पोषणको कार्यक्रम लागु गरिएको हो । सुत्केरी महिलाहरुलाई उत्तर प्रसुती स्याहार सेवाको महत्व तथा पोषण शिक्षा बारे परामर्श दिईएको नगर स्वास्थ्य प्रमुख सन्दीप केसीले बताए । वडाका सुत्केरी महिला तथा नवजात शिशुहरुलाई प्रदान गरिने विविध स्वास्थ्य सेवा प्रदान गर्न तथा समुदाय स्वास्थ्यका कार्यक्रम सफल बनाउन यस्ता कार्यक्रम उपयोगी हुने स्वास्थ्य अधिकृत सरोज थापाले बताए । कार्यक्रममा वडा सदस्यहरु तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम बखुण्डोल आधारभूत स्वास्थ्य संस्थाको प्रमुख हेमा संग्रौलाले सञ्चालन गरेकी थिईन् ।









