मण्डनदेउपुर, ज्याम्दी/मण्डनदेउपुर नगरपालिका वडा नम्वर १२ ज्याम्दी रामपुरमा एक युवालाई वडा सदस्यले घरमा बोलाए पछि खुकुरी प्रहार गरिएको छ । वडा सदस्य दिपक ठकुरीले सल्लाह छ आउनु भन्दै बोलाएका युवा अजय तामाङलाई ठकुरीका दुईवटा भाईहरु निराजन र जस्मिन ठकुरीले खुकुरी प्रहार गरेका हुन् ।
फागु पूर्णिमाको दिन दिउसो स्थानीय युवाहरु एक अर्का बीच आरोप प्रत्यारोपमा थिए । सामान्य विवाद हुँदै जाँदा हरि लामा घाईते भएका थिए । सोहि विषयमा छलफल गर्न भन्दै वडा सदस्य दिपक ठकुरीले सोहि वडाका युवा २६ बर्षिय अजय तामाङलाई आफ्नै घरमा बोलाएका थिए । राति ९ बजे सुतिरहेको अवस्थामा अजय के काम प¥यो ? यति राति के सल्लाह हो भन्दै जान आनाकानी गरेका थिए । फेरी पनि वडा सदस्यले छलफल जरुरी भन्दै बोलाइ पछि उनी गएका थिए । सोहि क्रममा फेरी सामान्य विवाद हुँदै थियो । अजय तामाङलाई दिपकका भाईहरु निराजन र जस्मिनले समाए अनि खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट अजय सख्त घाईते भएका छन् । उनको टाउको, तिघ्रा र गालाहरुमा गहिरो चोट छ । अजयको उपचार धुलिखेल अस्पतालमा भईरहेको छ । प्रहरीले केहि युवालाई नियन्त्रमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरी प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठका अनुसार घटनाका बारेमा अनुसन्धान जारी रहेको छ । संलग्नको आशंकामा उनिहरुलाई नियन्त्रणमा लिईएको छ भने घाईतेको उपचार भईरहेको छ ।









