2026 April 27/ 09:30: 03pm

बेथान्चोक/काभ्रेपलाञ्चोक जिल्ला अदालतले बेथान्चोक गाउँपालिकामा समुदायमा अदालत कार्यक्रम  संचालन गरेको छ । कार्यक्रममा समुदायले अदालत, कानून र न्यायका बारेमा बुझेका विषय वा समस्याहरुका बारेमा छलफल गरिएको थियो । न्यायपालिकाका चौथो पञ्चबर्षिय रणनीतिक योजना २०७६/२०७७–२०८०/२०८१ अन्र्तगत जिल्ला अदालत काभ्रेपलाञ्चोकले उक्त कार्यक्रमको आयोजना गरेको हो । 
    समुदायलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी दिन, अदालत र नागरिकहरु बीचको सम्बन्ध सेतुको काम अर्थात दोहोरो सञ्चार गर्न, समुदायको अदालतप्रतिको सरोकार र अदालतबाट समुदायले गरेको अपेक्षा, अदालत प्रतिको जनविश्वासमा अभिबृद्धि गर्न र अदालतप्रति रहेको अनावश्यक भ्रम निवारण गर्न समुदायमा अदालत कार्यक्रम संचालन गरिएको श्रेस्तेदार उप सचिव कर्णबहादुर राईले जानकारी दिए । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो । 
    सहभागिहरुले जिल्ला अदालतबाट सम्पादन हुने कार्य लगायत कानूनी समस्याका बारेमा जिज्ञासा राखेका थिए । स्थानीय स्तरमा हुने स–साना प्रकृतिका विवादलाई छिटो छरितो रुपमा समयमै विवाद निरुपण गर्नका लागि गाउँपालिकामा रहेको न्यायीक समितिले दिने न्याय र अदालतले दिने न्यायका बारेमा जिज्ञासा राखेका थिए । अदालतले नागरिकहरुका लागि सेवा प्रवाह वडापत्र, एक घण्टे सेवा, टेमप्लेट सुविधा, गुनासो सुनुवाई, उजूरीपेटिका, न्यायाधीश भेटघाट कार्यक्रम, असहाय पक्षलाई बैतनिक वकीलको सुविधा, दोभाषे सेवा, मेलमिलाप केन्द्र, प्रो बोनो सेवा, कोर्ट फी सुविधा रहेको श्रेस्तेदार राईले जानकारी दिए । कार्यक्रममा श्रेस्तेदार राईले अदालती प्रकृया, दस्तुर, न्यायीक प्रकृया, मिलापत्र सम्वन्धी ब्यवस्थाका बारेमा जानकारी गराएका थिए । 
    कार्यक्रममा नागरिकहरुले उठाएका जिज्ञासाका बारेमा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सम्बोधन गरेका थिए । कानूनको प्रस्टता, अदालती प्रकृया र अदालतले उपलब्ध गराउने सेवालाई अझै प्रभावकारी गराउन प्रयासरत रहने न्यायाधीश नेपालले बताए । नागरिकता प्राप्ती, धर्म पुत्रपुत्री राख्ने र उनिहरुले पाउने अधिकार लगायतका विषयमा नागरिकहरुले राखेका जिज्ञासाको सहजिकरण न्यायाधीश नेपालले गरेका थिए । कार्यक्रम जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रशासन प्रमुख अधिकृत हिराकुमारी भण्डारीले संचालन गरेकी थिईन् । उक्त कार्यक्रम विभिन्न स्थानमा बर्षमा तीनवटा सम्म गर्ने योजना बनाईएको भण्डारीले बताईन् ।