2026 April 27/ 09:29: 56pm

धुलिखेल/जनचेतना युवा समूह, धुलिखेल ८, बडालगाउँ मुल आयोजक समितिद्वारा बहल्टारेश्वर महादेव मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ आयोजना गरिएको छ । 
    चैत्र १७ गतेदेखि २४ गतेसम्म हुने महायज्ञको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समारोहको मुल आयोजक समिति संयोजक एवं युवा समुहका अध्यक्ष रमेश न्यौपानेले ऐतिहासिक मन्दिरको निर्माण गर्ने पुण्य कार्यमा सहभागि भई सहयोग गरिदिन अनुरोध गरे । ‘परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप पहलकदमी गरिएको हो’–अध्यक्ष न्यौपानले भने–‘बहल्टारेश्वर महादेव मन्दिर निर्माणार्थ अनन्तश्री विभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा) को प्रमुख आतिथ्यता एवं आचार्य विष्णुहरि बडाल, आचार्य सुदर्शन बडालको प्रमुख वाचकत्व तथा पण्डित रामहरी बडालको उपवचकत्वमा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा तन, मन र धनले सहयोग गर्दै पुण्य आर्जन गर्न सम्पूर्णमा हार्दिक आह्वान गर्दछौं ।’ 
    पत्रकार सम्मेलनमा वडा अध्यक्ष  विनोद गौतमले वडा नम्वर ८ मा रहेका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार गर्ने उदेश्यले परापुर्वकाल देखि बहल्टारेश्वर महादेव मन्दिर ओझेलमा परेकाले त्यसको पुनर्निर्माण तथा प्रचार प्रसारका लागि आयोजित महायज्ञ सफलताको शुभकामना दिएको थिए । ‘वडा कार्यालय र नगरपालिकाले समेत यसलाई प्राथमिकतामा राखेको छ’–अध्यक्ष गौतमले भने–‘वडा भित्र रहेका अन्य धर्म,संस्कृति र सम्पदाका लागि पनि हामी अगुवाई र संरक्षकत्व प्रदान गरिरहन्छौं ।’ मन्दिर निर्माणका लागि पहिलो चरणमा ९५ लाख लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सप्ताह ज्ञान महायज्ञबाट संकलित रकमबाट कम खर्च गर्दै मन्दिर निर्माणमा लगाउने अध्यक्ष न्यौपानेले बताए । 
    श्रीमद् भागवत महायज्ञ भव्य र सभ्य रुपमा सम्पन्न गर्न जनचेतना युवा समूहका अध्यक्ष रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिमा १ सय ८ जना रही बिभिन्न उप समिति गठन गरिएको छ । धुलिखेल ८, बडालगाउँ, क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि सिद्धिविनायक, राधाकृष्णका मन्दिरहरु निर्माण भएका छन । सोहि क्रममा बहल्टारेश्वर महादेवको मन्दिर निर्माण गर्न लागिएको हो । कार्यक्रम अनुसार २०८० चैत्र १७ गते विहान कलशयात्रा, दिउँसो महायज्ञ समुद्घाटन समारोह, मण्डप पूजन गरिने छ भने १८ गते देखि २४ गतेसम्म सङ्गीतमय कथा प्रवचन गरिनेछ । त्यस्तै चैत्र २३ गते साँझ सवा ११ लाख दीप प्रज्वलन गरी २४ गते तील चढाउने, महापूर्णाहुति, तिलकप्रसाद वितरण, महाअभिषेक, यज्ञ समापन गरिने छ । महायज्ञमा सहयोग गर्नेहरुलाई विभिन्न प्रकारका सम्मान गरिने छ । 
    मन्दिर निर्माणका लागि अध्यक्ष पुरुषोतम बडाल, प्रचार प्रसारका लागि पवन गौतम, संरक्षकका रुपमा धुलिखेल नगरपालिका वडा नम्वर ८ र अध्यक्ष विनोद गौतम, मुल आयोजक समितिमा संयोजक रमेशप्रसाद न्यौपाने रहेका छन् ।