बनेपा/बनेपा नगरपालिका वडा नम्वर १० जनागालमा रहेको नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयको एसकेजीका विद्यार्थीहरुको दिक्षान्त गरिएको छ । विद्यालयको ९ औ दिक्षान्त समारोहको अवसर पारी एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा शिक्षाविद् मोहन दुवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दुवालले बालबालिकाहरुलाई दिने शिक्षा र संस्कारले मुलुकको चित्रण गर्ने बताए । ‘बालबालिकाहरुले आज के सिकिरहेका छन् भन्ने कुराको परिणाम मुलुकले कस्ता नागरिक उत्पादन गरिरहेको छ ? बालबालिकाहरुले गर्ने ब्यवहार र लिने नीतिमा भर पर्दछ’–मोहन दुवालले भने–‘मुलुक चिनाउने शिक्षालाई नैतिकवान, चरित्रवान, मुलुक सुहाउँदो र ब्यवहारीक बनाउन आवश्यक छ ।’ दिक्षित भएका बालबालिकाहरुले आफ्नै मौलिक भाषामा सिकेका विषय र ज्ञानलाई कुशल र सक्षम तरिकाले प्रस्तुत गरेका थिए । नेवारी, तामाङ, अंग्रेजी, नेपाली तथा अन्य भाषाहरुमा बालबालिकाहरुले आफुलाई अभ्यस्त बनाउँदै आगामी दिनमा प्राप्त शिक्षाबाट लिने उदेश्यका बारेमा बताएका थिए ।
कार्यक्रममा अध्यक्ष रत्नकुश रञ्जितकारले विद्यालयले प्रदान गरेको शिक्षा ब्यवहारिक र अनुशासित रहेको बताए । पाठ्यक्रममा भएका विषयलाई मात्रै नभई ब्यवहारीक र पारिवारीक संस्कार सहितको सांस्कृतिक, नैतिकवान शिक्षा प्रदान गरिएको उनले बताए । विद्यालयमा ८ सय भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेको बताउँदै उनले हरेक विद्यार्थीहरुले प्राप्त गर्ने शिक्षाले ब्यक्ति मात्रै नभई समुदाय र राष्ट्र नै सक्षम बन्नु पर्ने बताए । कार्यक्रममा प्रिन्सिपल उमा बस्नेतले विद्यालयले प्रदान गरिरहेको समग्र शिक्षा, आगामी शैक्षिक सत्रका योजना र विद्यार्थीहरुले विद्यालयबाट सिकेर जाने ज्ञानलाई प्राथमिकता दिएको बताईन् । वडा अध्यक्ष चन्द्रबहादुर खड्का, वडा अध्यक्ष रामबहादुर कुँवर, विद्यालयका संचालकहरु, विद्यालयका सहायक प्रिन्सिपल, अतिरिक्त कृयाकलाप प्रमुख विक्रम प्रजापति, पुण्यश्वरी मानन्धर, विभिन्न क्षेत्रका ब्यक्तिहरु, अभिभावकहरुको सहभागिता रहेको थियो । ६१ जना बालबालिकाहरुलाई दिक्षित गराईएको कार्यक्रममा एसईई २०७९ मा उर्तिण विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।









