2026 April 27/ 09:28: 28pm

धुलिखेल/नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल नगर समितिको तेस्रो नगर परिषद धुलिखेलमा सम्पन्न भएको छ । नेकपा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नगर समितिका अध्यक्ष रुपेश नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य सुभद्रा अधिकारी, प्रदेश समिति सदस्य हरिहर दाहाल, जिल्ला कमिटी सदस्य निरञ्जन गेलाल र देवि गौतम, नेकपा एमाले धुलिखेल नगर कमिटीका सचिव विष्णु धिताल, धुलिखेल नगरपालिकाका सामाजिक विकास समिति संयोजक गणेश आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख समेत रहेका एमाले अध्यक्ष अशोक ब्याञ्जुले शैक्षिक गुणस्तर, विद्यार्थी सिकाई विधी र प्रविधी, विद्यार्थीहरुको सिकाई अवस्थाको सुधार, ब्यवहारिक ज्ञान र प्रयोगात्मक शिक्षाका बारेमा शिक्षकहरु चिन्तित हुनु पर्ने बताए । राज्यको लगानी अनुसारको प्रतिफल सामुदायिक विद्यालयबाट प्राप्त हुन कठिनाई भईरहेको अवस्थामा त्यसका विषयमा शिक्षकहरु गम्भिर बन्नु पर्ने बताउँदै ग्रामिण भेगका विद्यालयमा विद्यार्थीहरु कम हुने र शहरी क्षेत्रका विद्यालयहरुमा थेगि नसक्नु हुने परिस्थिती अन्त्य गर्न स्थानीय स्तरमा आत्मनिर्भर र स्वरोजगार खालका कार्यक्रम ल्याउने गरी नगरपालिकाले योजना निर्माण गरेको नगर प्रमुख ब्याञ्जुले बताए । 
    धुलिखेलमा हाल १ सय ६५ जना शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आजिवन र साधारण सदस्य रहेका छन । कार्यक्रममा धुलिखेल शिक्षक महासंघका सह–अध्यक्ष तोयानाथ उप्रेतीले अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन परित्याग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन प्रवेश गरेका थिए । कार्यक्रम सञ्चालन संगठनका सचिव उद्दव तिमल्सिनाले गरेका थिए ।