2026 April 27/ 07:54: 29pm

धुलिखेल/लायन्स क्लब अफ काभ्रेको पहल र सक्रियतामा बनेपामा २५ वर्ष देखि संचालन हुँदै आएको हार्ट क्लिनिकलाई बृहत्त र प्रविधी मैत्री बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । नेपाल हार्ट फाउण्डेशन बनेपा काभ्रेले बनेपामा २५ वर्ष अघि क्लिनिक संचालनमा ल्याएको थियो । 
    लायन्स क्लब अफ काभ्रे बनेपाको सहयोगमा नियमित क्लिनिक संचालन गर्ने गरी शुरु भएको उक्त क्लिनिकलाई अस्पतालका रुपमा विकास गर्न आगामी दिनमा थप योजना निर्माण गरी विभिन्न क्षेत्रको सहयोगमा विस्तारित सेवा संचालन गरिने सरिता पलाञ्चोकेले बताईन् । ४७ वर्ष अघि बनेपामा लायन्स क्लवको शुरुवात गरिएको थियो । लायन्स क्लवको आफ्नै भवनमा नियमित क्लिनिक संचालन भईरहेको छ । संस्थापक अध्यक्ष रामराजा धौभडेलले बनेपामा सुविधा सम्पन्न मुटु सम्वन्धी अस्पताल र सेवा विस्तारका लागि लायन्सबाट समन्वय र सहयोग रहने बताए । 
    कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले मुटु जस्तो ब्यक्तिको प्रमुख र अभिन्न अंगलाई स्वस्थ राख्न भएका प्रयासको प्रशंशा गर्दै आफ्नो तर्फबाट उक्त पवित्र अभियानमा सहयोग गर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले राजधानीको नजिक भएर पनि सुविधा सम्पन्न अस्पताल निर्माण हुन नसकेको विविध कारण बताउँदै आगामी दिनमा स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि हार्ट क्लिनिक जस्तै सुविधा सम्पन्न मुटु सम्वन्धी अस्पताल निर्माण गर्ने अभियानमा सहयोग रहने बताए । 
    कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मिले मुटु लापर्वाहीका कारण जोगाउन नसकिने बताउँदै त्यसलाई जोगाउन ब्यक्ति स्वयं तत्पर हुनु पर्ने बताए । बंशाणुगत समस्या एकातिर छ भने अर्काे तिर लार्पवाहीका कारण मुटुहरु जोगाउन नसकिएको उनले बताए । ब्यक्तिले आफ्नो मुटुको नियमित परिक्षण गर्न पनि डा.रेग्मिले अनुरोध गरे । धुलिखेलमा आयोजित कार्यक्रममा लायन्स क्लवका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहयोगिहरुलाई विशेष सम्मान गरिएको अध्यक्ष सरिता पलाञ्चोकेले बताईन् ।