बनेपा/लायन्स क्लब अफ काभ्रे, बनेपा लियो क्लब, काभ्रे बनेपा लियो क्लब, नेपाल हार्ट फाउन्डेसन काभ्रे र काभ्रे चेम्बर अफ कमर्स एण्ड सोसाइटीको संयुक्त आयोजना तथा उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीेको सहकार्यमा ‘हार्ट टक शो विथ फेलोशिप डिनर’ टक शो आयोजना गरिएको छ ।
मुटुको सुरक्षा, जिवनको रक्षा मुटुलाई स्वस्थ राख्ने सम्बन्धी डाक्टर प्रकाशराज रेग्मीले प्रस्तुती दिएका थिए । रेग्मीले आम मानिसमा मुटुरोग भन्ना साथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम रहेको बताए । उनले भने–‘मुटका थुप्रै रोग हुन्छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुमा सय भन्दा बढी रोग हुने गरेका छन् । ती मध्ये डाक्टरले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैली सम्बन्धी मुटुरोग भनेर तीन भागमा छुट्याएका छन् । जन्मजात मुटुरोग भन्नाले कुनै केटा केटीलाई जन्मजात मुटुरोग लागेको हुन सक्छ । यो रोग थोरैलाई मात्र लाग्छ । गर्भधारण गरेको तीन महिनाको अवधीमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधी सेवन गरेमा, अत्याधिक धुम्रपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुन जान्छ । बाथमुटुरोग भन्नाले बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो ।
सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउन सक्छ, जुन बेला एकपछि अर्काै गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन् । त्यसै गरी जीवनशैलीसँग सम्बन्धित मुटुरोग भन्नाले हृदयाघात, उच्च रक्तचाप आदि पर्छन् । मुटुरोग मध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ । मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीर भर रक्तसञ्चालन गराउँछ । मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ ।’
त्यसैगरी बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले मानिसले आफ्नो जिवनशैली परिवर्तन गरी खानपानमा विशेष ध्यान दिनु पर्ने बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने लायन्स क्लब काभ्रेकी अध्यक्ष सरिता पलाञ्चोकेको अध्यक्षता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









