गोमा थापा
बनेपा
उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन शुक्रबार काभ्रेको बनेपामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसकोे अवसरमा उद्योग तथा वाणिज्य कार्यालय काभ्रेको आयोजना, नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रेको समन्वय र राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेको सह–आयोजनामा उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
उत्पादकले मानव स्वास्थ्यलाई विशेष ख्याल गर्दै सामाग्रीहरु उत्पादन गर्नुुपर्ने र उपभोक्ताले पनि उपभोग्य सामाग्री खरिद गर्दा सामाग्रीकोे गुणस्तरताको बारेमा सचेत हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले बताए । उपभोक्ता अधिकार सम्बन्धि अवधारणाको बारेमा प्रस्तुतीकरण राख्दै सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले गुणस्तरीय उपभोग्य वस्तु खरिद गर्न पाउनु हरेक नागरिकको अधिकार भएकोे बताए । खाद्य तथा दैनिक उपभोग्य वस्तुबारे उपभोक्ता स्वयंम सचेत नभएसम्म अखाद्यय सामाग्रीको विक्रिवितरण नरोकिने उनको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जु कुमार कोजुले खाद्य सुरक्षा र गुणस्तरताका विषयमा हुने बजार अनुगमन चाडपर्व लक्षित मात्र नभई नियमित रुपमा हुनुपर्ने बताए । त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग कार्यालयकी केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्यायले बजारमा देखिने आर्कषक खाद्यवस्तु भन्दा स्वस्थ र खाद्य वस्तुका बारेमा उपभोक्ता सचेत हुनुपर्ने बताइन । उत्पादक र उपभोक्ता दुवै उपभोग्य वस्तु खरिद तथा विक्री गर्दा स्वास्थ्य र खाद्य गुणस्तरकोे विषयमा सचेत गर्नुपर्ने उद्योेग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञ बहादुर ज्ञवालीले बताए ।









