चौरीदेउराली/चौरीदेउराली गाउँपालिकाका पाँचवटा विद्यालयले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधी २०७४, संशोधित २०७६ ले तोकेका १० वटा मापदण्ड पूरा गरेका छन् ।
वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा सिविक फोरमले २०२२ देखि सहजिकरण गरिरहेको छ । २०२३ भित्र पालिकामा रहेका ३३ वटा विद्यालयहरुमा उक्त मापदण्ड पुरा गराउने गरी कार्य भईरहेको सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताए । चौरीदेउराली गाउँपालिकामा रहेको वडा नम्वर ६ मा रहेको प्रभा माध्यमिक विद्यालय, वडा नम्वर ७ मा रहेको सिर्जनशिल जनता माध्यमिक विद्यालय, वडा नम्वर ५ रहेका अरनिको माध्यमिक विद्यालय र जागृति माध्यमिक विद्यालय, वडा नम्वर ३ मा रहेको बुद्ध हिमालय माध्यमिक विद्यालयले नेपाल सरकारले तोकेका १० मापदण्ड पुरा गरेका छन् । बागमती प्रदेश अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक उक्त विद्यालयहरुले मापदण्ड पुरा गरेका हुन् । ‘गाउँपालिकामा रहेको सामाजिक विकास समिति तथा विभिन्न क्षेत्रबाट गरिएको अनुगमनमा उक्त ५ वटा विद्यालयले तोकिएको मापदण्ड पुरा गरेकाले कार्यपालिका बैठकले २०८० फागुन ३० गते तीन तारा प्रदान गर्ने निर्णय गरेको हो’–गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भनिन–‘बाँकी विद्यालयहरुमा पनि एक, दुई र तीन ताराका सुचकहरु पुरा गर्ने गरी कार्य प्रारम्भ भएको छ । गाउँपालिकाले त्यसलाई सहजिकरण गरिरहेको छ ।’
विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले शैक्षिक सत्र शुरु भएको एक महिना भित्र अनुसुची १ अनुसारका सूचकहरुको आधारमा अनुुसूची २ अनुसार स्वमूल्यांकन गरी एक, दुई र तीन ताराका सूचकहरु पुरा गरे पछि विद्यालय ब्यवस्थापन समिति समक्ष पेश गर्नेछ । सोहि आधारमा ब्यवस्थापन समितिले एक महिना भित्र प्रमाणीकरणका लागि गाउँपालिको सामाजिक विकास समितिमा पेश गर्नेछ । गाउँपालिकाको सामाजिक विकास समिति वा सम्वन्धित समिति मार्फत अनुगमन, मुल्यांकन गरी तारा निर्धारणको प्रमाणीकरण गरी विद्यालयलाई जानकारी दिनेछ । सामाजिक विकास समितिले प्रमाणीकरण प्रतिवेदन सुझाव सहित गाउँपालिकामा पेश गर्नेछ । सोहि आधारमा गाउँपालिकाले निर्णय गरे पछि मात्रै विद्यालयहरुले तीन तारा प्राप्त गर्नेछन् । विद्यालयको शैक्षिक, आर्थिक, सामाजिक, वातावरणीय तथा भौतिक र मानवीय पक्षमा सुधार एवं सो सम्वन्धी सेवा प्रवाह सबलीकरण कार्यमा एकीकृत र सहभागितात्मक विधी अपनाएको हुन्छ ।
विद्यालयले पूरा गर्नु पर्ने १० वटा सूचकहरुमा खानेपानी, शौचालय, सफा, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता ब्यवस्थापन, विपद जोखिम तथा ब्यवस्थापन, अनुगमन तथा जवाफदेहिता रहेका छन् । चौरीदेउराली गाउँपालिकाको आयोजना तथा सिविक फोरमको सहजिकरणमा शुक्रबार आज उक्त विद्यालयलाई बागमती प्रदेशका पुर्व मन्त्री तथा सदस्य रत्न ढकालको प्रमुख आतिथ्यतामा तीन तारा घोषणा गरिदैछ । अध्यक्ष रेणुका चौलागाई, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी बसन्धुरा खड्का, शिक्षा समन्वय इकाई प्रमुख उप सचिव देवका ढकाल, वाटर एडका बरिष्ठ परियोजना संयोजक प्रमिता मर्हजन, सिविक फोरमका बरिष्ठ कार्यकारी अधिकृत बसन्त कुँवर, भविश्यका लागि आधार परियोजना प्रमुख सानत्वना कार्की, प्रमुख प्रशासकिय अधिकृत महानदास लामा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, प्रधनाध्यापक तथा विद्यालय परिवार, शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय पालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष किशोराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।









