2026 April 27/ 09:23: 30pm

बनेपा/मेयर कप सितोरियो कराँते प्रतियोगिता बनेपामा सम्पन्न भएको छ । काभ्रे कराँते एकेडेमीको आयोजना तथा नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजनामा सम्पन्न प्रथम मेयर कप सितोरियो कराँते प्रतियोगितालाई बनेपा नगरपालिकाले सहयोग गरेको थियो । 
    चैत २ गते शुक्रबारबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते शनिबार सम्पन्न भएको हो । बनेपा लायकु मञ्चमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाबाट २ सय भन्दा धेरै खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीहरुलाई नगर प्रमुख शान्तिरत्न शाक्यले पुरस्कार वितरण गरेका थिए । 
    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजित प्रतियोगितामा खेलाडीहरुले २१ वटा इभेन्टमा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ ११ इभेन्ट भएको थियो भने महिलातर्फ १० इभेन्ट आयोजना गरिएको थियो । काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कराँते महासंघ र नेपाल सितोरियो कराँते संघ काभ्रेको प्राविधिक सहयोग र समन्वय रहेको थियो ।  एकेडेमीले प्रत्येक वर्ष कराँते प्रतियोगिता आयोजना गरी खेलाडीहरुलाई प्रतिभा देखाउने अवसर प्रदान गर्दै आइरहेको छ । यस्तै एकेडेमीले दक्ष प्रक्षिकबाट प्रशिक्षण, तालिम गोष्ठी लगायतका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ । खेलको माध्यमबाट युवाहरुलाई कुलत र दु्व्र्यसनबाट टाढा राखी सामाजिक उत्तरदायित्व बोध गराउने, नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर राखी अन्तराष्ट्रिय जगतमा राष्ट्रको नाम राख्न प्रेरित गर्दै काभ्रे जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिष्य स्तरका खेलाडी तथा रेफ्रीहरु उत्पादन गर्ने एकेडेमीको उद्देश्य छ ।
    प्रतियोगिताका लागि ५१ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको थियो । मुल समारोह समितिको अध्यक्षमा काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धर रहेका थिए भने कार्यक्रम संयोजक महासचिव श्यामसुन्दर कुँवर रहेका थिए । सल्लाहकार उप–समिति, सचिवालय, आर्थिक समिति, प्रचारप्रसार समिति, स्वयंसेवक, क्याट्रिङ, खेल स्थल व्यवस्थापन, अतिथी सत्कार लगायतका उपसमिति गठन गरिएको थियो ।  कार्यक्रममा काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धर, काभ्रे कराँते महासंघका अध्यक्ष प्रताप वैद्य, काभ्रे कराँते एकेडेमीका वर्तमान तथा निवर्तमान पदाधिकारीहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    समापन कार्यक्रममा विजेताहरुलाई पुरस्कार, सहयोगिहरुलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो ।