पनौती/पनौती नगरपालिकामा रहेको प्याब्सन पनौतीले जिल्लामै पहिलो पटक ३ सय ६० जना बालबालिकाहरुलाई सहभागि गराउँदै किन्डर स्पोर्टस मिट २०८० आयोजना गरेको छ । अध्यक्ष विमल न्यौपानेका अनुसार यस्तो प्रतियोगिता प्याब्सनले आयोजना गरेको जिल्लामै पहिलो हो ।
‘पनौती क्षेत्र भित्र रहेका १२ वटा विद्यालयका ३ सय ६० जना बालबालिकाहरुले विभिन्न ५ वटा विद्यामा प्रतिस्पर्धा गरे’–अध्यक्ष विमल न्यौपानेले भने–‘शुभारम्भमा एकै पटक विद्यार्थीहरुले सबै पश्चिम पुर्व घर भन्ने गितको बोलमा नृत्य प्रस्तुत गरे भने नमस्कार ब्यायाम गरेका थिए । यसले विद्यार्थीहरु बीच एकता र प्रतिस्पर्धा दुबैको अभ्यास गराएको छ ।’ अतिरिक्त कृयाकलाप संयोजक रमेश राजलवटले विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि यस्ता प्रतियोगिताहरु अवसर हुने बताए ।
प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसीले प्याब्सनमा आवद्ध विद्यालयहरुले विद्यार्थीहरुका ज्ञान र क्षमतालाई प्रस्फुटन गराउन र अन्य विद्यालयका विद्यार्थीहरुसँगको सम्वन्धलाई समेत प्रगाढ बनाउन यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने बताए । प्रतियोगितामा अब्सट्रयकल रेस, स्यारेक्स, म्युजिकल चियर, बेलुन ब्यालेन्सिङ, वल कलेक्सन लगायतका विद्याहरु समेटिएको थियो । प्रतियोगितामा विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्रका साथै सहभागि सबै विद्यार्थीहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो ।
प्याब्सन पनौतीले उक्त कार्यक्रमका लागि ओमकृष्ण श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरेको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पुर्णकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष श्याम भुजेल, प्याब्सन जिल्लाका कोषाध्यक्ष बसन्तराज नेपाल, जिल्लाका अन्य पदाधिकारीहरु, प्याब्सन पनौतीका पदाधिकारीहरु र विभिन्न विद्यालय र संघ संस्थाका प्रतिनिधिहरु सहभािग थिए ।









