2026 April 27/ 07:54: 28pm

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ मा रहेको नमुना बस्ति नयाँ शान्ति टोल उपभोक्ता समितिले नगरपालिकाको ६० र स्थानीयहरुको ४० प्रतिशत सहभागितामा १ सय ४० मिटर लम्बाई क्षेत्रमा सोलिङ्ग, पक्कि नाली तथा ढल निर्माण सहित सडक ढलान गरेका छन् । 
    स्थानीयहरुको सक्रियता रहेको उक्त टोलमा यसअघि पनि पौने करोड बराबरको सडक पक्कि गरिएको थियो । विस्तार हुँदै गएको उक्त क्षेत्रलाई नगरपालिका र वडा कार्यालयले समेत प्राथमिकतामा राखेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले उक्त क्षेत्रमा भईरहेको निर्माण कार्यको अवलोकन गर्दै पक्कि संरचना निर्माणमा स्थानीयहरुको सहभागिताले स्थानीय सरकारले गर्ने निर्माण तथा विकास योजनालाई सहजता भएको बताए । ‘जुन स्थानमा वा टोलमा नागरिकहरुको सक्रियता रहन्छ त्यहाँ दिगो विकास सम्भव छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘धुलिखेल ४ मा रहेको उक्त क्षेत्रलाई ब्यवस्थित बनाउन आवश्यक संरचनाहरुको दिगो निर्माण र ब्यवस्थापनलाई नगरपालिकाले साझेदारी गर्नेछ ।’ वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले धुलिखेलका नयाँ बस्ति शान्ति टोललाई आवश्यक पर्ने थप संरचनामा समन्वय गर्ने बताए । 
    उपभोक्ताहरुले उक्त क्षेत्रमा ६ वटा मंगल सहित आवश्यक ढल, नाली, ढुंगाको सोलिङ्ग र पक्कि ढलान गरेका छन् । उपभोक्ता समिति अध्यक्ष मुना केसीले उपभोक्ताहरुको सक्रियताले उक्त कार्य गर्न सहज भएको बताईन् । उपभोक्ताहरुको सक्रियतालाई नगरपालिका र वडा कार्यालयले समेत प्राथमिकतामा राखेकोमा उपभोक्ताहरुले धन्यवाद ब्यक्त गरेका छन् । सदस्य पूर्ण श्रेष्ठका अनुसार उक्त कार्यका लागि नगरपालिकाको ९ लाख र उपभोक्ताहरुको ६ लाख तथा थप रकम जनश्रमदान सहित १५ लाख ६३ हजार खर्च भएको छ । 

बनेपा र धुलिखेल जोड्ने त्रिवेणी पुल
    धुलिखेल नगरपालिका वडा नम्वर ४ र बनेपा नगरपालिका वडा नम्वर ६ जोड्ने खोल्साको करिडोर अर्थात सिमानामा त्रिवेणी टोल सुधार समितिले दुबै नगरपालिकाको सहयोगमा पुल निर्माण कार्य गरिरहेको छ । पुल निर्माण कार्यको अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष पवन भुर्तेलले बताए । प्राविधिकहरुले पुलको स्लाव ढलान कार्यलाई अघि बढाउन दिएको सुझावका आधारमा पक्कि पुल निर्माण गरिएको छ । 
    पुल निर्माणका लागि धुलिखेल नगरपालिकाका तर्फबाट साढे ५ लाख र बनेपा नगरपालिकाको तर्फबाट ६ लाख रकम विनियोजन भएको छ । बाँकी रकम जनश्रमदान सहित गरी करिब १४ लाख रुपैयामा पुल निर्माण हुँदैछ । नगर प्रमुख अशोक ब्याञ्जु, वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, गणेश आचार्य लगायतका जनप्रतिनिधि, कर्मचारीहरुले पुल र सडक निर्माणको अवलोकन गरेका थिए ।