बनेपा/पार्किङमा राखिएको मोटरसाईकल चोरी गरी आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले बनेपा बुडोल नजिकैबाट तीन युवा पक्राउ गरेको छ । विहिबार राति घर अगाडी पार्किङ्ग गरेर राखेको स्थानबाट बाईक चोरी भएको मोटरसाईकल धनी कुमार मैनालीले बताए ।
बनेपा नगरपालिका वडा नम्वर ५ स्थित नयाँ तरकारी बजारको भित्री बाटोमा घर अगाडी पार्किङ्ग गरि राखेको कुमार मैनालीको नाममा रहेको प्रदेश ३ को ०२–००३ प २८१६ नम्वरको १५० सिसीको पल्सर मोटरसाईकल चोरी गरी आगो लगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए । राति १.४५ बजेको समयमा भएको उक्त घटनामा संलग्नको आशंकामा प्रहरीले जिल्ला बारा निजगढ नगरपालिका ४ बस्ने बर्ष १९ का उमेश धामी, काभ्रे पाँचखाल नगरपालिका वडा नम्वर १ बस्ने बर्ष २९ का हर्क तामाङ र जिल्ला सुनसरी मधुबन नगरपालिका २ बस्ने बर्ष २८ का राजकुमार परीयारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले उनिहरु सहित चोरी भई आगलागी भएको मोटरसाईकल नियन्त्रणमा लिएको छ । मोटरसाईकल धनी कुमार मैनालीले विहान उठेर हेर्दा पार्किङ्ग गरिएको स्थानमा मोटरसाईकल नदेखे पछि चोरी भएको भन्दै वरपर तथा आफन्तहरुलाई जानकारी गराएका थिए । लगत्तै ईलाका प्रहरी कार्यालय बनेपामा मोटरसाईकल हराएको सूचना दिन जाँदा आफ्नो मोटरसाईकल जलाउँदै गरेको अवस्थामा प्रहरीले मानिस सहित नियन्त्रणमा लिएको जानकारी पाएका थिए । प्रहरीले मोटरसाईकल चोरी र त्यसपछि आगो लगाउनुको कारण, थप ब्यक्तिहरुको संलग्नताका बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।
नेपाल कानून तथा लेखापढी ब्यवसायी संघका सचिव समेत रहेका कुमार मैनालीले आफु माथी ब्यक्तिगत तथा ब्यवसायीक दुस्मनीका कारण मोटरसाईकल चोरी गरी जलाएको हुन सक्ने बताए । उनले आफ्नो र परिवारको सुरक्षाका लागि प्रशासनसँग माग गरेका छन् ।









