2026 April 27/ 07:54: 29pm

    बनेपा/आदर्श विद्यामन्दिर स्कूल बनेपाले स्वस्थ जीवनशैली जीउन सीप सिकाईका लागि कक्षा १० देखी १२ सम्मका विद्यार्थी र शिक्षकका लागि तिन दिने योग शिविर आयोजना गरेको छ । ‘गरौं योग, बनौं निरोग’ भन्ने नाराका साथ आयोजित शिविर फागुन २८ देखी शुरु भई फागुन ३० गते सम्म एविएम फूटसलमा सञ्चालन गरिनेछ । 
    पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष योग गुरु ग्रोवेन तौजलेले योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जीउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने बताए । हरेक वर्ष विद्यालयमा गरिँदै आएको योग शिविरले विद्यार्थीलाई रचनात्मक बन्नका लागि उत्प्रेरित गरेको बताए । काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालयको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ जीवन शैली जिउने सिप सिकाईका लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाई ११ अन्र्तगत रहेर विद्यार्थीहरूले अनिवार्य रुपमा सिक्नुपर्ने प्रयोगात्मक योग ध्यान र स्वस्थजीवनशैली सम्वन्धी प्रयोगात्मक कक्षा सञ्चालन गरिएको हो । 
    प्राध्यापक एवं मानवअधिकारकर्मी भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको योग शिविरको सञ्चालन विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले गरेका थिए । कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायस्थ, महिला पतञ्जली योग समितिकी अध्यक्ष अनु श्रेष्ठ, युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठ, पतञ्जली योग समितिका मोहनकृष्ण बैद्य, श्याम श्रेष्ठ, शोभा नकर्मी, हिमानी श्रेष्ठ, कृष्णप्रसाद नराल र राजेन्द्र सापकोटा लगायतले प्रयोगात्मक अभ्यास गराएका थिए ।