धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर २ रविमा दलित समुदायका १५ परिवारलाई नगरपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा पाडी वितरण गरिएको छ । अघिल्लो आर्थिक वर्ष १५ परिवारलाई वितरण गरिएको थियो । आगामी वर्ष थप बाँकी परिवारलाई वितरण गरिने अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।
वडा नम्वर २ मा दलित समुदायका ४४ घर परिवार छन् । वडा स्तरीय दलित परिषद्का संयोजक सानुबाबु सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, वडा अध्यक्ष अर्जुन न्यौपाने, नगर स्तरीय दलित परिषद्का उपाध्यक्ष चमार विक लगायतको सहभागिता रहेको थियो । ‘दलित, अपाङ्गता भएका ब्यक्तिहरु, महिला, विपन्न परिवारको आर्थिक उन्नती तथा दिगो आय आर्जनको ब्यवस्थापनका लागि नगर र वडाको संयुक्त ब्यवस्थापनमा सिपमुलक तथा आय आर्जन मुलक कार्यक्रमहरु हुँदै आएका छन्’ – नगर प्रमुख ब्याञ्जुले भने–‘धुलिखेल नगरपालिकालाई गरिवीबाट मुक्त बनाउने अभियान अन्र्तगत परिषद्हरुले विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।’
वडा अध्यक्ष अर्जुन न्यौपानेले गरिव तथा आयआर्जन कम भएका दलित समुदायका परिवारलाई हरेक वर्ष क्रमशः पाडी वितरण गरिएको बताए । ‘अघिल्लो वर्ष १५ परिवार, चालु वर्ष १५ परिवार र आगामी वर्ष बाँकी परिवारलाई पाडी उपलब्ध गराईनेछ’–वडा अध्यक्ष न्यौपानेले भने–‘वडा कार्यालयको दलित उत्थान कार्यक्रम अन्र्तगत २ लाख रुपैया र नगर स्तरीय परिषद्बाट १ लाख रुपैया गरी ३ लाख रुपैयामा २० हजारका दरले १५ वटा पाडी किनेर हस्तान्तरण गरिएको छ ।’ पाडीहरुको विमा वडा कार्यालयले निशुल्क गरिदिएको अध्यक्ष न्यौपानेले बताए ।









