धुलिखेल/धुलिखेल नगरपालिकाले लम्पी स्किन रोगबाट मृत्यु भएका पशुपालक किसानहरुलाई गाई, भैंसी, बाच्छीरपाडी खरिदका लागि बढीमा विस हजार रुपैयाँ नबढ्ने गरि नगरपालिकाबाट ५० प्रतिशत र सम्बन्धित किसानबाट ५० प्रतिशत खर्च व्यहोर्ने गरि अनुदान उपलब्ध गराएको छ ।
कार्यपालिकाको निर्णयअनुसार पहिलो चरणमा वडा नम्वर ३ र ४ का १५ जना पशुपालक किसानहरुको २० वटा मृत्यु भएका पशुहरुको राहत स्वरूप प्रति पशु दश हजार रुपैयाँ दरले नगद धुलिखेल नगरपालिका पशुपन्छी शाखाबाट वितरण गरिएको छ । नगरपालिका भित्र पशुपालक किसानहरुको २ सय ४३ वटा पशुहरुको मृत्यु भएको थियो । अनुदान वितरण कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर,आर्थिक समितिका संयोजक तथा वडा नम्वर ११ का वडा अध्यय नारायण बडाल, वडा नम्वर ३ का वडा अध्यक्ष गणेश आचार्य, वडा नम्वर ४ का वडा अध्यक्ष उत्तम तिमल्सिना, लेखा अधिकृत धनबहादुर बस्नेत, राजेन्द्र बजगाई, पशुपन्छी विकास शाखा प्रमुख पुरुषोत्तम हुमागाईं, पशु चिकित्सक डा.चरण कमल धिताल, राज बहादुर लामा तथा बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । वाँकी कृषकहरुलाई क्रमशः वितरण गर्दै जाने नगरपालिकाले जानकारी दिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारले क्षति भएका पशुहरुका हकमा कृषकहरुलाई अनुदानमा पशु खरिदका लागि सहयोग गर्ने घोषणा गरी कार्यपालिकाबाट निर्णय गरेको बताए ।









