धुलिखेल/दादुरा रुवेला रोग विरुद्धको खोप अभियान काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल नगरपालिका वडा नम्वर ४ स्थित समुन्नत पाठशालाबाट शुरु भएको छ । जिल्ला खोप समन्वय समिति काभ्रेका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले खोपको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै समन्वय प्रमुख गौतमले जिल्लाका तोकिएका उमेर समुहका सबै बालबालिकाहरुले खोप पाउने गरी ब्यवस्थापन गरिएको बताए । २३ हजार ९ सय ५९ बालबालिकाहरु ९ महिना देखि ५ वर्ष मुनी उमेर समुहका छन् । उनिहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक मार्फत १३ वटै पालिकाका स्वास्थ्य शाखाहरुले ४ सय ३० वटा केन्द्रमा ८ सय ६० जना स्वंमसेवकहरुले खोप लगाउने छन् । स्वास्थ्य कार्यालय प्रमुख अनिता खनालले जिल्लामा फागुन १३ देखि २५ गतेसम्म दुई चरणमा खोप अभियान संचालन हुने बताईन् । पहिलो चरणमा धुलिखेलबाट शुरु भएको अभियान २५ गतेसम्म जिल्लाका सबै बालबालिकाहरुलाई लगाई सक्ने गरी योजना गरिएको उनले बताईन् । ‘यो नियमित खोपको अतिरिक्त खोप अभियान हो’–स्वास्थ्य कार्यालय प्रमुख अनिता खनालले भनिन–‘बालबालिकाहरुलाई दादुरा रुवेला जस्तो प्राणघातक सरुवा रोगबाट संक्रमण हुन नदिन, शिशु र बाल मृत्युदर कम गर्न तथा विश्वमै नेपालबाट दादुरा रुवेला रोग २०२६ सम्म अन्त्य गर्ने गरी सबै बालबालिकाहरुलाई नछुटाईकन खोप अभियान संचालन गर्ने गरी ब्यवस्थापन गरिएको छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय अभियानमा काभ्रेपलाञ्चोक जिल्लाका सबै बालबालिकाहरुले प्राप्त गरेको अवसरलाई कोहि पनि बालबालिकाहरु नछुट्ने गरी खोप कार्यक्रम संचालन गर्न निर्देशन दिईन् । खोप अभियानको निरन्तर अनुमगन, समन्वय र सहकार्य गर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका २३ हजार ९ सय ५९ बालबालिकाहरुमा शत प्रतिशत खोप लगाउन अनुरोध गरिन् । कार्यक्रममा वडा नम्वर ४ का अध्यक्ष उत्तम तिमल्सिना, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, धुलिखेल स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतले खोप अभियानका बारेमा धारणा राखेका थिए । धुलिखेल नगरपालिका वडा नम्वर ४ स्थित स्वास्थ्य केन्द्र प्रमुख हेमा संग्रौलाले अभियानका क्रममा सबै बालबालिकाहरुलाई खोजेर खोप लगाउने बताउँदै खोपबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमको समेत ब्यवस्थापन गरिएको बताईन् । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. रुपेश तिमल्सिना लगायत विशेषज्ञ डाक्टरहरु दिपक ढकाल, सानुकृष्ण श्रेष्ठ, सामना शर्माको टोलीले खोपको नियमित अनुगमन गर्नेछ । स्वास्थ्य कार्यालय काभ्रेका खोप शाखा प्रमुख पदमराज कैनीले सबै केन्द्रहरुमा खोप सामाग्री समयमै पुग्ने गरी ब्यवस्थापन गरिसकिएको बताए । धुलिखेल नगरपालिकाले २ हजार २८ बालबालिकाहरुका लागि खोप कार्यक्रम संचालन गर्ने तयारीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको स्वास्थ्य शाखा सह संयोजक सरोज थापाले जानकारी दिए ।
दादुरा रुबेला खोपबाट केहि वर्ष अघिसम्म धेरै बालबालिकाहरुको निधन हुने गरेको बताउँदै स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले एक जनालाई लागेको दादुरा रुवेला खोपबाट १८ जनालाई सर्ने रोग नियन्त्रण र ब्यवस्थापनका लागि खोप अनिवार्य भएको बताए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख अनिता खनालले यसअघि नियमित खोप लगाईसकेका सबै बालबालिकाहरुलाई पनि अभियानको खोप लगाउन अनुरोध गरिन् । अभियानका क्रममा समुन्नत पाठशालामा अध्ययन गर्ने बालबालिकाहरुलाई खोप लगाईएको छ ।









