बनेपा/बनेपाका विभिन्न पसलहरुमा नक्कली बजारअनुगमनकर्ता बनेर ब्यवसायीहरुलाई ठग्दै हिडेको अभियोगमा स्थानीयहरुले गरेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
बनेपा नगरपालिका वडा नम्वर ५ घसिला मार्ग स्थित रहेका बेकरी पसलहरुमा उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताउँदै पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेकोमा मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाई दश हजार जरिवना भन्दै लगेका थिए । उनिहरु पुनः बेकरी पसल तिर पसेको अवस्थामा स्थानीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त कार्यमा संलग्न भएका भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका ७ घर भएका ५० बर्षिय वासुदेव न्यैपाने र काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्बर २९ घर भई भक्तपुर सुर्यविनायक ७ बस्ने ५१ बर्षिय रोशन पोखरेललाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताएको छ ।









