2026 April 27/ 06:21: 33pm

    बनेपा/हिमकाली समाज सेवा साकोस, पनौती न.पा. १०, शंखुको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सहकारी शिक्षा शिविरका रुपमा चिनिने उक्त कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 
    सहकारी शिविरमा सदस्यहरुलाई पछिल्लो समय सहकारीहरुमा देखिएका समस्या, सहकारी मार्फत भएका उपलब्धी, सदस्यहरुको भूमिका तथा उत्तरदायित्वसँगै सहकारीले पारेका प्रभाव र आगामी दिनमा सहकारीका परिवारका सदस्यहरुको भूमिकाका बारेमा छलफल भएको थियो । संस्थाका अध्यक्ष अर्जुनप्रसाद बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा लगायतले सहकारीका बारेमा धारणा राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष बजगाईले संस्था नीति, विधि र प्रविधिलाई आत्मसात गदै सदस्यमुखी कार्यक्रम सहित संचालनमा रहेको बताए । संस्थामा हालसम्म कुनै पनि जोखिम नरहेको अध्यक्ष बजगाईले स्पष्ट पारे । 
    संस्थाका सचिव उत्तम आचार्यले संस्थाको पृष्ठभूमी तथा परिचय बिषयकमा प्रस्तुतीकरण गरेका थिए । बिशेष अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडका लेखा समिति संयोजक शिवप्रसाद आचार्यले संस्थाको बचत तथा राहत कोष र संस्थाको ऋण लगानी तथा असूली बिषयमा प्रस्तुतिकरण गरेका थिए । वित्तीय साक्षरताका  विषयमा नेफ्स्कूनको प्राविधिक सहयोग स्वरुप प्रमुख प्रशिक्षकका रूपमा नेफ्स्कून फिल्ड कार्यालय बनेपाका व्यवसाय अधिकृत रामप्रसाद सापकोटाले प्रस्तुतीकरण गरेका थिए । 
    कार्यक्रममा संस्थाका उपाध्यक्ष, ऋण संयोजक तथा केन्द्रिय कार्यालयका रुपमा रहेको कालिदेवी सेवा केन्द्र, शंखुका संयोजक अनन्त सत्याल, विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका सचिव उत्तम आचार्यले संचालन गरेका थिए भने स्वागत संस्थाका उपाध्यक्ष अनन्त सत्यालले गरेका थिए । प्रमुख ब्यवस्थापक मुरारी सुवेदीका अनुसार संस्थाको २०८० माघ मसान्तसम्मको ११ करोड ९१ लाख कुल वासलात रहेको छ । संस्थामा शेयर रकम १ करोड ५० लाख, विभिन्न कोषहरुमा बचत ८१ लाख, ऋण लगानी ८ करोड र बचतमा ८ करोड रहेको छ । उक्त क्षेत्रको उत्कृष्ट संस्थाका रुपमा सहकारीले शेयर सदस्यहरुलाई विभिन्न खालका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।