बनेपा/काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोलमा आयोजित गायन प्रतियोगिता सिजन चारको उपाधी संगीत तामाङले हात पारेका छन् ।
गायन प्रतियोगिताको सिजन चार मा १ सय जना भन्दा धेरै विद्यार्थीहरु मध्ये उत्कृष्ट १५ विद्यार्थी छनौट गरिएको थियो । विद्यार्थीहरुको गायन प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको अन्तिम फाईनलमा १५ जना विद्यार्थीहरु छनौट भएका थिए । ‘काभ्रे स्कुल सिङ्गङ आईडल’ नामक उक्त कार्यक्रममा विभिन्न चरण पार गर्दै छनौट भएका अन्तिम प्रतिस्पर्धीहरुलाई शुक्रबार प्रतिस्पर्धा गराईएको थियो । कार्यक्रम संयोजक शिक्षक उद्धव लुईटेलका अनुसार प्रथम संगीत तामाङ, दोश्रो उत्सव कार्की, तेश्रो आश्रित तामाङ र चौथो आकांक्षा तामाङ भए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमार मानन्धर, सहायक प्रिन्सिपलद्धय केशव श्रेष्ठ र विकास श्रेष्ठले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विजयी विद्यार्थीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकमा गायक सुरज थापा र विक्रम सुवाल रहेका थिए । सुरज नेपाल आईडल सिजन एकका उत्कृष्ट ६ प्रतियोगि मध्येका एक थिए । विद्यार्थीहरुको प्रतिभा उजागर गर्न विद्यालयले आयोजना गरेको यस्ता कार्यक्रम महत्वपूर्ण रहेको प्रिन्सिपल कुमार मानन्धरले बताए । कार्यक्रम संचालन विद्यार्थी सुस्मिता शाही ठकुरीले गरेकी थिईन् ।
काभ्रे माध्यमिक विद्यालयले विद्यार्थीहरुको शैक्षिक गुणस्तरका अलावा अतिरिक्त कृयाकलापमा विभिन्न कार्यक्रमहरु आयोजना गरी बालबालिकाहरुलाई थप शशक्त बनाउँदै आएको छ ।









