2026 April 27/ 04:44: 39pm

    पनौती/काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित काभ्रे इङ्गलिस माध्यमिक विद्यालयले रजत जयन्ती विविध कार्यक्रम सहित मनाएको छ । २०५५ सालमा स्थापना भएको विद्यालयले पुस्तक लोकार्पण, पुरस्कार वितरण, शिक्षक, विद्यार्थी सम्मान तथा साँस्कृतिक कार्यक्रम सहित २५ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य शान्तिराज कायस्थको सभापतित्व रहेको थियो भने धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा। रामकण्ठ माकजु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, वडाअध्यक्षहरु विभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा बोल्दै धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले शिक्षाको विकासविना देश परिवर्तन नहुने भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन । उनले बदलिँदो परिवेश अनुसार गुणस्तरीय, व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गरेका छन । कार्यक्रममा काभ्रे इङ्गलिस माध्यमिक विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २५ औं वर्षमा आइपुग्दा एसएलसीमा बोर्ड फष्टदेखी पटक–पटक जिल्ला प्रथम हुन सफल भएको उनले बताए । शिक्षालाई प्रविधिमैत्री र व्यवहारिक बनाउन गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उनको भनाई छ । नैतिक एवं चरित्रवान विद्यार्थी निर्माणका लागि विद्यालय सक्रिय रहेको समेत उनले बताए ।
    विद्यार्थीमा पठन संस्कृति, सिर्जनशीलता, मौलिकता तथा रचनात्मक गुणहरु प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापमा जोड दिएको पनि उनले बताए । उनका अनुसार कक्षा १२ सम्म अध्यापन भइरहेको विद्यालयमा ११ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन । यस्तै ८३ जना शिक्षक र कर्मचारी कार्यरत रहेको नेपालले बताएका छन । शिक्षक कर्मचारीका लागि सञ्चयकोष, सामाजिक सुरक्षाकोष, पूर्वतयारी तालिम, सिकाईको लागि अध्ययन अवलोकन भ्रमण लगायतका कार्य गर्दै आइरहेको प्रिन्सिपल नेपालले जानकारी दिएका छन् । यसैबिच २५ औं वार्षिकोत्सवको अवसरमा कारिका लोकार्पण गरिएको छ भने उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पुरस्कार वितरण गरिएको छ । काभ्रे शिक्षा विकास प्रतिष्ठान तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगन्नाथ अवाले शान्ति, सिर्जनशीलता तथा उत्कृष्टताको लागि शिक्षा भन्ने अवधारणाका साथ अगाडि बढिरहेको बताए । विद्यालयले हासिल गरेका उपलब्धिहरु प्रशंसनीय रहेको उनको भनाई छ । 
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, अभिभावक प्रतिनिधि एवं नेपाल सरकारका उप–सचिव रामकुमार सापकोटा, प्याब्सन जिल्ला अध्यक्ष श्यामबहादुर भुजेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव रामशरण लुइटेल सहायक प्रिन्सिपल सन्तकुमार श्रेष्ठले काभ्रे माविले शिक्षा क्षेत्रको विकासका लागि खेलेको भुमिकाका बारेमा धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।