2026 April 27/ 04:44: 40pm

    पनौती/तेजगंगा बहुमुखी क्याम्पसको आयोजना र पनौती नगरपालिका वडा नम्बर ८ को सहकार्यमा जलवायु परिवर्तनका असर र न्युनीकरणका उपायहरु विषयक कार्यशाला सम्पन्न भएको छ । पनौती नगरपालिका वडा नम्बर ८ को कार्यालयमा भएको कार्यक्रममा १२ वटा विद्यालयका शिक्षक, विद्यार्थी पनौती नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष राजाराम सैंजुको सभापतित्व भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की, पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, वातारण विज्ञ शुभाषचन्द्र देवकोटा र सुजित श्रेष्ठ, कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य शोभा कार्की, राजेन्द्र केसी, विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख भिमसेन केसी, चन्द्रमणी काफ्ले, मुक्तिनारायण काफ्ले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा अध्यक्ष बेदप्रसाद बञ्जाराले वडाले योजना बनाउँदा जलवायु परिवर्तनका असर न्युनीकरणका लागि वातावरण बचाउने कार्यक्रममा जोड दिएको बताए । प्राकृतिक सम्पदा संरक्षण, सरसफाई, जलवायु परिवर्तनका असर बारे सचेतना लगायतका कार्यक्रम गरिरहेको उनको भनाई थियो प्रमुख चुनौतीको रुपमा देखा परेको जलवायु परिवर्तनका कारण र न्युनीकरणका उपाय बारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सुरु गरेकोमा उनले खुसी व्यक्त गर्दै क्याम्पसलाई धन्यवाद दिएका छन् ।
    कार्यक्रमबारे प्रकाश पार्दै क्याम्पस प्रमुख डा.अम्वुभवानी कार्कीले जलवायु परिवर्तनका कारण हुने क्षति धेरै भएपनि यसबारे जनचेतनाको कमी रहेको बताइन् । उनले समुदायमा क्याम्पस कार्यक्रम अन्तर्गत पनौती नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिइन । कार्यक्रममा मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, महिला सशक्तिकरण लगायतका विषय लिएर हरेक वडामा पुग्ने उनको भनाई छ । क्याम्पसले पढ्ने पढाउने मात्रै नभई जल्दाबल्दा विषयमा जनचेतना जगाउँछन् भन्ने उदाहरणका रुपमा कार्यक्रम गरिएको बताइएको छ ।
    कार्यक्रममा सामुदायिक वन विज्ञ एवं वातावरणविद् सुवासचन्द्र देवकोटाले पेट्रोलियम पदार्थको उत्खनन्, अव्यवस्थित शहरकिरण, दिगो विकास नहुनु, वातावरण र विकास सन्तुलित नहुँनु, जंगल फडानी लगायतका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताए । अस्वभाविक रुपमा पृथ्वीको तापक्रम वृद्धि हुँदा वातावरणीय चक्र नै बदलिएको उनको भनाई छ । जसका कारण खाद्यान्न संकट, बाढी, पहिरो, हिमपहिरो, आगलागी जस्ता विपद्को सामना गर्नुपरेको देवकोटाले बताए । जलवायु परिवर्तनमा ठुला राष्ट्र बढी जिम्मेवार रहेको उनले बताए । जलवायु परिवर्तन न्युनीकरणका लागि वनजंगल संरक्षण, अर्गानिक खेती, सरसफाई, दिगो विकास र ब्यवस्थापन लगायतका कार्य जरुरी रहेको अर्का वातावरण विज्ञ सुजित श्रेष्ठले बताएका छन । कार्यक्रममा हरित गृह प्रभाव, जलवायु परिवर्तनका कारणहरु, जलवायु परिवर्तनका प्रभावहरु, न्युनीकरणका उपाय, जलवायु परिवर्तन र नेपालका बारेमा छलफल भएको थियो ।