2026 April 27/ 04:43: 38pm

    तेमाल/तेमाल गाउँपालिकामा वडा नम्वर २ स्थित डाँडागाउँ जागरुक युवा समाजले आयोजना गरेको वडा अध्यक्ष फुटवल कपमा आयोजक र रेफ्रिको मिलेमत्तो र जालझेलका कारण सहभागी टिमहरु बीच अस्वस्थ प्रतिस्पर्धा भएको छ । आयोजक राईजिङ्ग स्टार बीलाई जिताएर याङ्गेल युवा क्लवलाई हराउन गरिएको तिकडमका कारण वडा अध्यक्ष कप फाईनल भए पनि निश्पक्ष हुन नसकेको खेलाडीहरुले बताएका छन् । 
    आयोजक डाँडागाउँ जागरुक युवा समाजले नक्कली खेलाडीहरु सहभागी गराई जसरी पनि वडा अध्यक्ष कपको उपाधी जित्ने योजना बनाएको भन्दै अन्य टिमका खेलाडीहरुले आपत्ति जनाएका थिए । खेलाडीहरुको असहमतिका बाबजुत पनि जर्बजस्ति रुपमा खेलको नियम विरुद्ध रेफ्रिहरुले प्रतियोगिता संचालन गरेका थिए । वडा अध्यक्ष देवराज तामाङ आफै सहभागि खेलाडीहरु विरुद्ध जाईलागेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाईरल भएको छ । आयोजक भनिएको क्लवको लेटरप्याड प्रयोग गर्दै मनलाग्दी खेलाडीहरु परिवर्तन गरिएको छ भने त्यसको जानकारी माग्दा उल्टै सूची च्यातेर आयोजक फरार भएका थिए । 
    प्रतियोगिताको शुरुवाती देखि नै धाँधली गरिएको थियो । २० वटा टिम सहभागि भएको भनिएकोमा १६ टिम एउटा समुहमा थिए भने बाँकी ४ वटा टिम अर्काे समुहमा थिए । प्रतियोगिता ४० मिनेटको थियो । २० मिनेटमा हाफ टाईम गर्ने सहमति भएको थियो । आयोजकले चारवटा टिमबाट भाग लिएका थिए । खेलाडी नपुग्ने भए पछि मनलाग्दी रुपमा प्रतियोगितामा खेलाडी सहभागि गराईएको थियो । राईजिङ्ग स्टार बी र याङ्गवेल युवा क्लव बीच भईरहेको प्रतिस्पर्धामा राईजिङ्ग  स्टार विलाई जिताउन वडा अध्यक्ष देवराज लामाले आफंै भूमिका खेलेको खेलाडीहरुले बताएका छन् । मंगलटार स्थित याङ्गेल युवा क्लवका खेलाडीहरुले रेफ्रिलाई एक्लै १५ मिनेटसम्म आयोजकले नियन्त्रणमा राख्नु, प्रतियोगिता शुरु गर्न रेफ्रिले सिठी नफुक्दै अर्काे समुहले हानिएको गोललाई मान्यता दिनु, बीचमा खेर नगएको समयलाई बढाएर आयोजकलाई गोल गर्ने गरी समय बढाउनु, पेनाल्टी देखाएर पराजयको एकतर्फी घोषणा गरिएका कारण उक्त प्रतियोगिता निश्पक्ष हुन नसकेको खेलाडीहरुले बताएका छन् । 
    निश्पक्ष खेलाउन माग गर्दा वडा अध्यक्ष लामाले मुख छाडेर सिंगल सिंगल भिड्न आईज भन्दै हकारेको भिडियो भाईरल छ । वडा अध्यक्ष लामाले भने हार्नेहरुले शुरु गरेको बखेडाबाट त्यस्तो भएको प्रतिक्रिया दिएका छन् ।