नाला/बनेपा आधारभुत नगर अस्पताल नालामा मानसिक स्वास्थ्य क्लिनिक संचालनमा आएको छ । क्लिनिकको शुभारम्भ गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले नगरबासीहरुलाई स्वस्थ राख्नका लागी उक्त सेवा अस्पतालमा थप गरिएको बताए ।
नगरबासीहरुको अनुहारमा खुशी ल्याउन नगरपालिका मार्फत निशुल्क दन्त शिबिर रेयुकाई मासुनागाँ आखाँ अस्पतालमा निशुल्क मोतिविन्दुको अप्रेशन, विभिन्न स्वास्थ्य शिबिर गरी रोगहरुको पहिचान गरी उपचार गरिएको शाक्यले बताए । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले अस्पतालमा मानसिक रोग उपचारका लागी सेवा थपिएको बताए । उक्त रोगको प्रत्येक महिनाको दोस्रो बुधबार पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डा.नविन लेखकद्धारा विरामीको जाँच गरिने श्रेष्ठले बताए । अस्पतालमा बर्थिङ सेन्टर, सुगर प्रेसरको जाँच तथा निशुल्क औषधी वितरण, प्रजनन स्वास्थ्य जाँच तथा परामर्श, दैनिक ओपिटी सेवा लगायतका सेवाहरु उपलब्ध हुँदै आएको बताए । शुभारम्भ कार्यक्रममा अस्पतालमा एक्स रे, ल्याब, लगायतका सेवाहरु छिट्टै थपिने उप प्रमुख विमला सापकोटाले बताईन् ।
नाला भेगमा उक्त सेवा अति आबश्यक भएको अबस्थामा नगर अस्पताल सञ्चालनमा आए पछि वडा नम्बर १,२, ३ र ४ नम्बर वडाका स्थानीयहरुलाई उपचारमा सरल भएको बताईन् । नगरले सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गरी सेवा दिदै आएकोमा नगर अस्पतालबाट थप सेवा पाउने सापकोटाले बताईन । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख आशिष शर्मा कँडेल लगाएतको उपस्थिती रहेको थियो । क्लिनिकको पहिलो दिन २६ जना विरामीले सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक महेश्वर श्रेष्ठले बताए ।









