2026 April 27/ 04:30: 51pm

पनौती/पनौती–४ मा बालविवाह र बालश्रम न्युनीकरणमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
 मित्रता वडा बाल सञ्जाल तथा पनौती नगरपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । वक्तृत्वकला प्रतियोगितामा १६ जना प्रतिस्पर्धी थिए । ६ वटा विद्यालय र १० वटा टोलस्तरीय बाल समुहका विद्यार्थीले प्रतियोगितामा भाग लिएका हुन । वक्तृत्वकला प्रतियोगितामा काभ्रे मावि पनौतीकी गरिमा सापकोटा प्रथम, क्रियाशिल बाल समुहका सचिव सन्देश खत्री द्वितीय, अरुणोदय माध्यमिक विद्यालयकी अरुण बाल समुहकी उपाध्यक्ष कुसुम तिमल्सिना तृतीय तथा बालोद्धार बाल समुहकी अध्यक्ष सन्ध्या तिमल्सिनाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । 
कार्यक्रममा अरुणोदय विद्यालयकी शिक्षक ज्ञानु गौतम र सामुदायीक विद्यालयकी भगवती सापकोटा निर्णायकको भुमिकामा थिए । बालबालिकाहरुले समाजमा जरो गाडेर बसेको बालविवाह, बालश्रम अन्त्यका लागि समाज जागरुक हुन नसकेको गुनासो गरेका छन । पनौती नगरपालिका वडा नम्बर ४ मा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागी अधिकांश बालबालिकाले कापी कलम हुनुपर्ने हातमा अर्काको होटलमा भाँडा माझ्नुपर्ने जिम्मेवारी रहेको भन्दै देशको भविष्यप्रती नै चिन्ता व्यक्त गरेका छन । सन्ध्या तिमल्सिनाले भविष्यका कर्णधार भनिले बालबालिका आज किन शिक्षाबाट बञ्चित भइरहेका छन् भन्दै प्रश्न गरेकी छन् । उनको अर्को प्रश्न थियो–बालबालिकालाई पढाउनुपर्छ, ठुलो मान्छे बनाउनुपर्छ भन्ने भनाई व्यवहारमा कहिले लागु हुन्छ ? उनले कानुनको कार्यान्वयन हुन नसकेको समेत बताइन् । उनले भनिन्, समाजमा लुकिरहेको बालविवाह, बालश्रम खै त कानुनसम्म पु¥र्याएको ? यो बारे खै त समाज जागरुक भएको ?
यस्तै अरुणोदय विद्यालयकी कुसुम तिमल्सिनाले बालअधिकारको खोजीमा बालबालिका भौंतारिरहनु परेको देख्दा दुःख लाग्ने गरेको बताइन् । बालबालिकालाई शिक्षा भन्दा काम ठुलो र काम भन्दा धन ठुलो भन्ने सिकाउँदा समस्या आएको उनको धारणा छ । उनले बालबालिकालाई पारिवारिक वातावरण सिर्जना गरिदिन पनि आग्रह गरेकी छिन । बालश्रम र बालविवाह जोखिमपुर्ण अवस्था भएको उनको वुझाई छ ।
प्रतियोगितामा सहभागीता जनाउँदै काभ्रे माविकी गरिमा सापकोटाले कुसंस्कार र कुरीतिका रुपमा रहेका बालश्रम र बाल विवाहको अन्त्य जरुरी रहेको बताइन् । यसलाई बालबालिकाको चौतर्फी विकास रोक्ने तत्वका रुपमा समेत उनले व्याख्या गरेकी छन । संविधानमा बाल अधिकारबारे उल्लेख भएपनि नीतिगत व्यवस्थाको कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । यसका लागि बालबालिकाले जनजागरण ल्याउन सक्ने उनले बताइन् । अशिक्षा, गरिबी, बेरोजगारीका कारण बालविवाह र बालश्रम हुने गरेको सन्देश खत्रीले बताए । सामाजिक सञ्जाल मार्फत पनि बालबालिका प्रेममा फस्दा बालविवाह हुने गरेको उनले बताए । सोहि अवसरमा वडाभित्र रहेका ८ वडा विद्यालयका २÷२ जनालाई छात्रवृत्ति वितरण गरिएको छ । गरिव र देहन्दार छात्र र छात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रममा मित्रता वडा बाल सञ्जालका अध्यक्ष पुरब बञ्जाराको अध्यक्षता रहेको थियो भने पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जारा, वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहाल, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले अध्ययनसँगसँगै अतिरिक्त क्रियाकलाप लगायत बालबालिकाको सर्वाङ्गीण विकासका लागि काम गरिरहेको बताए । विद्यालय र परिवारबाट फुर्सद मिलेको समय बाल क्लवमा केहि सिक्नमा खर्चन उनको आग्रह छ । नगरपालिकालाई बालश्रममुक्त नगर घोषणाको अन्तिम चरणमा रहेको उनले जानकारी दिएका छन् ।
वडा अध्यक्ष दिपक दाहााले २० वर्ष मुनिको विवाहलाई कानुनले बन्देज गरेको बताए । गैरकानुनी विवाह दण्डनीय हुने भन्दै उनले यसबारे सबै सचेत हुनुपर्ने बताएका छन । कानुनले तोकेका विषयलाई कार्यान्वयनमा ल्याउन, जानकारी गराउन वडा कार्यालय लागिरहेको उनको भनाई थियो । बोल्ने कलालाई स्पष्ट र निखारता दिन उनको सुझाव छ । नेतृत्व विकासका लागि पनि बोल्नेकला महत्वपुर्ण रहेको उनको भनाई छ । बालमैत्री सहजकर्ता ललिता धितालले वक्तृत्वकला प्रतियोगितामा सहभागीको संख्या बढ्दै गएको बताइन् ।