2026 April 27/ 04:32: 23pm

बनेपा/आर्दश विद्या मन्दिर स्कुलका विद्यार्थीहरुका लागी नेपाली सेनाद्वारा प्रदान गरिएको राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिम एनसिसिको ईभेन्ट प्रर्दशन कार्यक्रमको आयोजना गरेको छ । 
    कार्यक्रमको उद्घाटन कालीजंग गणका धुलिखेल काभ्रेका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिहंले गरेका थिए । गणपती सिंहले तालिममा विद्यार्र्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गराएका थिए । यसका अलावा सैन्य लगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिईनु साथै विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण लगायतका विषयमा समेत जानकारी गराएका थिए । सिनियर डिभिजनको तालिम २०८० भदौ १ गतेबाट सुरु गरिएको थियो । २०८० सालमा जिल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराईएको गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए ।  एक सय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन गरिएको थियो भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा सिन्धुलीका बर्दिबासमा हुनेछ । 
    काभ्रेमा वार्षिक २ सय ५२ विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराउँदै आएको सिंहले बताए । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्र्थी सहभागी गराउदै आएको छ । तालिममा छनोट विद्यालयबाट १८ छात्र र १८ छात्रा प्रति डिभिजनमा सहभागी हुनेछन् । गणले हाल पनौती नगरका एसओएस बालग्राम, डिभाइन लाइट स्कुल, पुण्य माध्यमिक विद्यालय, धुलिखेलको सञ्जिवनी मावि, बनेपाको आर्दश विद्या मन्दिर र बेलर स्कुल तथा पनौतीको सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सञ्चालन गरेको हो भने आर्दश विद्या मन्दिर र बेलरमा सिनियर डिभिजन तालिम भएको थियो । 
    तालिममा प्रथम भएको विद्यालयका विद्यार्र्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यस सम्बन्धी तालिम विस्तार गर्दै वार्षिक सात हजार सात सय विद्यार्र्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । सरकार मार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाईएको छ । आर्दश विद्यालयमा भएको ईभेन्ट प्रर्दशन कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले उक्त तालिमले विद्यार्थीहरुलाई अनुशासित नेतृत्व क्षमताको विकासका लागि थप सहज भएको बताए । विद्यालयले आगामी वर्षहरुमा समेत उक्त कार्यक्रम संचालन गर्न कालिजगं गणलाई अनुरोध गरेका थिए । कार्यक्रममा पुण्य मावि पनौतीका प्रध्यानाध्यापक सरस्वती कँडेल, मानव अधिकारकर्मी भोजराज तिमल्सिना लगाएतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले तालिममा सिकेको अभ्यासहरु प्रर्दशन गरेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रल्हाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।