पनौती/काभ्रे इङ्गलिस माध्यमिक विद्यालयले बुधबार जिल्ला स्तरीय अन्तर विद्यालय एकल पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्लाका पच्चीस वटा विद्यालय सहभागी उक्त प्रतियोगितामा प्रथम ज्ञान सरोवर माध्यमिक विद्यालय बनेपाका छात्र शरद कर्माचार्य भएका छन् । त्यसै गरी द्वितीय सरस्वती कुञ्ज बोर्डिङ स्कुल पनौतीका छात्र देव शाही र तृतीय श्रीराम मावि खोपासीका छात्र विरेन्द्र तामाङ भएका छन् ।
कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल छात्रहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइवाले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथी वाइवाले विद्यार्थीरुलाई मोबाइल फोन तथा सामाजिक सञ्जालको प्रयोगबाट निस्किएर खेलकूदमा लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले खेलकुदले विद्यार्थीको सामाजिकीकरणमा प्रत्यक्ष रुपमा सकारात्मक भूमिका खेल्ने बताए । विद्यालयका प्राचार्य बसन्तराज नेपालले विद्यालयको पच्चिसौं स्थापना दिवसको अवसरमा विद्यालयले विद्यार्थी केन्द्रित कार्यक्रमलाई कक्षा कोठामा मात्र हैन समूदायमा पनि पु¥याउने उदेश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । खेलकुदले विद्यार्थीमा अनुशासन, एकता, आपसी सहयोग र मानवताको विकास गर्ने कुरा नेपालले बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, द्वितियलाई ४ हजार र तृतीय स्थान हासिल गर्नेलाई तीन हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विक्रम सम्बत २०५५ सालमा स्थापित विद्यालयले आगामी माघ २५ गते स्थापनाको पच्चिसौं वर्ष मनाउने प्राचार्य बसन्तराज नेपालले जानकारी दिए ।









