2026 April 27/ 03:19: 18pm

विकास तिमल्सिना/पनौती 
           शहीद दिवसका अवसरमा पनौती नगरपालिका वडा नम्बर ८ स्थित शहीद पार्कमा शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रभातफेरी सहित शहीदको स्मारकमा माल्यार्पण गरिएको हो । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र २०६२÷६३ को जन–आन्दोनलमा जीवनको आहुती दिएका पनौतीका सगुन ताम्राकारको सालिकमा माल्यार्पण गरिएको हो ।
            पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जाराको सभापतित्वमा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, कार्यपालिका सदस्य चण्डीका परियार, वडा सदस्य विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, पनौती प्रहरी चौकी इन्चार्ज कुलबहादुर कुँवर, शहरी स्वास्थ्य चौकी खरिवोटका इन्चार्ज रेशम बहादुर योञ्जन, भालेश्वर मावि र सिद्धार्थ वनस्थलीका शिक्षक विद्यार्थी लगायत स्थानीयको उपस्थिती रहेको पनौती नगरपालिका वडा नम्बर ८ की बालमैत्री सहजकर्ता गीता थापाले जानकारी दिइन् ।
             कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले असल कर्म मार्फत शहीदको सपना साकार पार्नुपर्ने बताएका छन् । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नु नै शहीद प्रतीको सच्चा सम्मान हुने भण्डारीको भनाई थियो । वडा अध्यक्ष बञ्जाराले शहीदलाई सम्झेर कार्यक्रम हुँदै आए पनि उनीहरुका सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको बताएका छन । यद्यपी असल प्रयास जारी रहेको उनको भनाई थियो ।