2026 April 27/ 03:20: 16pm

पनौती/पनौती नगरपालिकामा इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । 
सिविन नेपालको आयोजना तथा पनौती नगरपालिकाको सहकार्यमा सरोकारवालासँग छलफल गरिएको हो । अनलाइन मार्फत बालबालिकामाथी हुने साइबर अपराध न्युनीकरणका लागि सरोकारवालाको भुमिका, कानुनी प्रावधान र यसबाट बच्न अपनाउन सकिने उपायका बारेमा छलफल भएको हो । कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका नगर प्रमख रामशरण भण्डारीले अनलाइनमार्फत हुने अपराध र दुव्र्यवहार बढेको भन्दै सचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन । उनले आफुले सिकेका विषय घर, परिवार, छरछिमेकमा पनि जानकारी गराउँदै सचेतना जगाउन भुमिका खेल्न सबैमा आग्रह गरेका छन् ।
अनलाइनमार्फत बालबालिकामाथी हुने अपराध र दुव्र्यवहार नगरपालिका, वडा र बालबालिकाको मात्रै विषय नभई साझा चुनौतीको विषय भएको उनको भनई थियो । समस्या पर्नु अघि नै हाम्रा बालबालिकालाई कसरी बचाउने भनेर सोच्न जरुरी रहेकोमा उनले जोड दिएका छन् । 
यस्तै उप–प्रमुख गीत बञ्जाराले टोल बस्तीमा इन्टरनेट सेवा पुगेसँगै यसको गलत प्रयोगले समस्या बढ्न थालेको बाइन् । सिविन नेपालका अनलाइनमा बाल संरक्षण परियोजना संयोजक माधव लोहनीले जनचेतना जगाउने उदेश्यले स्थानीय तह, बाल क्लव सहित सरोकारवालासँग सहकार्य गरेर काम गरिरहेको बताए । बालबालिकामा अनलाइनबाट दुव्र्यवहारका घटना बढ्दै गएपछि सन् २०१८ देखी बालबालिकालाई अनलाइनमा दुव्र्यवहार कसरी हुन्छ, कोबाट हुन्छ, यसबाट कस्तो नकारात्मक परिणाम देखिएको भन्ने बारे छलफल सहित सचेतना अभियान सुरु गरिएको बताए ।  त्यसैगरी  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो काठमाडौंका प्राविधिक प्रहरी नायव उपरिक्षक ईन्जिनियर दिपेश जोशीले साइबर व्युरोमा गत वर्ष ९ हजार १३ उजुरी दर्ता भएको जानकारी दिए । चालु आर्थिक वर्षको माघ ११ गतेसम्म १० हजार ७ सय ७६ उजुरी दर्ता भइसकेको उनले बताए । यो क्रम बढ्दो रहेको भन्दै उनले सचेतना अभिवृद्धि अत्यावश्यक भएको बताए ।
पनौती नगरपालिका बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जाराले इन्टरनेटबाट हुने अपराधबाट बालबालिकालाई जोगाउन सरोकारवालको भुमिका, कानुनी प्रावधान र आफैं कसरी सुरक्षित हुने भन्ने सचेतनाका लागि कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छन् । कार्यक्रममा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक एवं पनौती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विपिन लामा, सिविन बालिका गृह पस्थलीकी भगवती श्रेष्ठ, बालक गृह पनौतीका सनिल श्रेष्ठ, नगरपालिकाका विभिन्न शाखा प्रमुख, बालमैत्री सहजकर्ता, पनौती प्रहरी चौककिा इन्चार्ज, विभिन्न विद्यालयका प्रधानाध्यापक, बाल समुह, बाल क्लवका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।