2026 April 27/ 01:53: 51pm

जनस्वास्थ्य सेवा विधेयक पारित
      भकुण्डेवेशी/नमोबुद्ध नगरपालिकाको चौथो अधिवेशन सम्पन्न गरेको छ । 
सभाले जनस्वास्थ्य सेवा विधेयक, २०८०’ पारित गरेको छ । गत बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका संयोजक विरबहादुर लामाले निर्णयार्थ प्रस्तुत गरेको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन गर्नको लागि बनेको जनस्वास्थ्य सेवा विद्येयक, २०८० सर्वसम्मतले पारित भएको हो । 
नगर प्रमुख कुन्साङ लामाको अध्यक्षतामा, नगर उपप्रमुख रत्नबहादुर लामाको उपस्थितीमा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले आर्थिक बर्ष २०८०÷०८१ को लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्विकृत भएको नीति, कार्यक्रम र बजेट (बार्षिक नगर विकास योजना) मा हालसम्म भएको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार, हाल सम्मको अवधीमा चालुतर्फ २७ प्रतिशत र पुँजीगततर्फ १६ प्रतिशत प्रगति भएको बताएको थियो । 
बैठकमा विधायक समितिका संयोजक टिकाबहादुर केसीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०÷०८१ को लागि स्विकृत भएको नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०८० को अनूसूची माथिको संशोधन प्रस्ताव पारित भएको छ । बैठकले नगर कार्यपालिका बैठकबाट पेश भएका प्रस्ताव एवं विशेष निर्णयहरु पनि अनुमोदन गर्ने निर्णय गरेको छ ।