2026 April 27/ 01:53: 53pm

पनौती/पनौती नगरपालिकामा केन्द्रीय कार्यालय रहेको नवदुर्गा सहकारीले २१ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापनाको अवसर पारेर हरेक वर्ष आयोजना गरेको रक्तदान कार्यक्रममा यो वर्ष ४० जनाले रक्तदान गरेका छन् । २०५९ साल पौष २६ गते उक्त संस्था विधिवत रुपमा स्थापना भएको हो । 
    संस्थाले स्थापनाको अवसर पारेर १ सय १० जना पुर्व संचालकहरुलाई विशेष सम्मान गरेको छ । नवदुर्गा सहकारी १० वटा सहकारीलाई एकीकरण गरी बनेको हो । स्थापना दिवसको अवसरमा नवदुर्गा सहित १० वटा सहकारीका पुर्व संचालकहरु सबैलाई सम्मान गरिएको हो । नवदुर्गा सहकारीका संस्थापक अध्यक्ष पुण्यप्रसाद आचार्य हुन् भने लगातार यज्ञप्रसाद हुमागाईले अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । इन्द्रप्रसाद हुमागाईको अध्यक्षतामा संचालन भईरहेको नवदुर्गा सहकारीले ९५ करोड ६१ लाखको कारोवार गरी ८ वटा सेवा केन्द्र र ३२ वडा बचत संकलन केन्द्र संचालन गरिरहेको छ । नगर प्रमुख रामशरण भण्डारीले सहकारीहरुले बचत र ऋण कारोवारसँगै उद्यमी बन्न शेयर सदस्यहरुलाई साक्षरता अभियान संचालन गर्नु पर्ने बताए । सहकारीहरु प्रति आम नागरिकहरुको विश्वास बढाउन आय आर्जन हुने खालका कार्यक्रम लागु गरी संचालन गर्न र शेयर सदस्यहरुलाई थप सक्रिय बनाउन पुँजी परिचालन गरिने क्षेत्रहरुको पहिचान गर्नु पर्ने बताए । 
    संस्थामा ९ हजार ७ सय ८० जना शेयर सदस्य रहेका छन् । ६७ करोड २२ लाख बचत, ७८ करोड ३४ लाख ऋण, ९ करोड ६० लाख शेयर पुँजी रहेको प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले बताए । ७ करोड ९७ लाख विविध कोषमा जम्मा भएको छ । स्थापना दिवसमा सचितार्थ गुृरुकुलका विद्यार्थीहरुले स्वस्तिक बाचन गरेका थिए । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारी, रेडक्रस काभ्रेका सभापति रघुनाथ हुमागाई, रेडक्रसकर्मी एवं धेरै पटक रगत दान गर्ने रक्तदाता विदुर खड्का, संस्थाका सल्लाहकारहरु यज्ञप्रसाद हुमागाई, उपेन्द्रप्रसाद हुमागाई, राजकुमार तिमल्सिना, संस्थाका उपाध्यक्ष योगमाया आचार्य, सचिव अकुरप्रसाद सापकोटा लगायतले संस्थाका बारेमा धारणा राखेका थिए । संस्थाले काभ्रेका ६ वटा नगरपालिकाका साथै बेथान्चोक र खानीखोलामा कारोवार गर्ने अनुमती पाएको छ ।