धुलिखेल/दक्षिण एशियामै पहिलो पटक धुलिखेल नगरपालिकाले पुरा गरेका शहस्राब्दी दिगो विकासका चारवटा लक्ष्यका सुचकहरुको अवस्थाका बारेमा अध्ययन अवलोकन गर्न संयुक्त राज्य अमेरिकामा रहेको न्यूयोर्क विश्वविद्यालयका विद्यार्थीहरु धुलिखेल आईपुगेका छन् ।
विद्यार्थीहरुको टोलीलाई धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले स्वागत गरेको थियो । विश्वविद्यालयका बिद्यार्थीहरुद्वारा धुलिखेल नगरपालिकाको भ्रमण एबं धुलिखेलले दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि गरेको प्रयास, उपलब्धि तथा संघीय प्रणालीका चुनौतीहरुका विषयमा अन्तरक्रिया गरेको थियो ।
धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको छ । दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको प्रतिवेदनमा दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी समेत गरिएको छ ।
निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट ४ प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयको घरमा खानेपानी (एक घर, एक धारा) पु¥याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकको अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो । नगरले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षा पश्चात् प्रतिवेदन सार्वजनिक गरेको थियो । राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष विश्वनाथ पौडेलले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए । दिगो विकासका चार लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीको लक्ष्य पूरा गरी प्रतिवेदन सार्वजनिक गरिएको नगरप्रमुख अशोक ब्यन्जुले बताए । सोहि विषयको अध्ययन गर्न विश्वविद्यालयका विद्यार्थीहरु धुलिखेल आएका हुन् ।









