2026 April 27/ 03:07: 51pm

धुलिखेल/धुलिखेल नगरपालिका नगर बाल क्लबको आयोजनामा नगर भित्र रहेका बाल क्लबका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि गर्न २ दिने तालिम आयोजना गरिएको छ । 
    तालिममा नगर प्रमुख अशोक ब्याञ्जुले जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको नगरपालिका भएकाले बालमैत्री घोषणा गरे पछि के के सुधार भए र अझै बालबालिकाको क्षेत्रमा के गर्न बाँकी रहेको छ त्यसका बारेमा नगरपालिकालाई सुझाव दिन अनुरोध गरेका थिए । बालमैत्री नगर घोषणा भएपछि बालबालिकाहरुले बाल अधिकार सम्बन्धी, कानुनको ज्ञान थाहा पाएको, बाल विवाह न्युनिकरण भएको, नेतृत्व विकासका लागी सहयोग पुगेको, बाल बालबालिका सम्बन्धी समस्याहरु सामुहिक रुपमा समाधान गर्न सकिएको बताएका थिए भने अझै बालबालिबाका क्षेत्रमा आएको बजेट पुर्ण रुपमा कार्यान्वयन नभएको, प्रत्येक सामुदायिक विद्यालयमा निशुल्क प्रदान गरिने भनिएको शिक्षामा विभेद गरिएको, बालबालिकाहरुलाई सामाजिक र ब्यबहारिक काममा पनि समावेश गर्न नगर प्रमुख ब्याञ्जुसँग आग्रह गरेका थिए । नगर प्रमुख ब्यान्जुले बालबालिकाहरुका लागी नगरले बजेट मात्रै नभई उनिहरुको क्षमता, नेतृत्व विकासका लागी यस्ता तालिमहरु प्रदान गर्दै आएको बताए । नगर प्रमुख ब्याञ्जुले बालबालिका भनेको काँचो माटो भएकाले विद्यालयले मात्रै नभई समाज र घरमा समेत राम्रो शिक्षा दिनुपर्ने बताए । बालबालिकाहरुलाई आफुले सिकेका राम्रा कुराहरुलाई जती सक्दो सबै बालबालबालिका सँग पु¥याउनु पर्ने र नराम्रो कुरालाई सुधार गर्नु पर्ने, तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतार्नु पर्ने, समाजका हरेक विषय थाहा पाई चेतना बृद्धि गर्दै ज्ञान बढाउँदै आफ्नो क्षमता र शिक्षा बढाउँदै लैजानु पर्ने बताए । तालिममा बालबालिकाको क्षेत्रमा काम गर्ने सहजकर्ता हरिशचन्द्र घिमिरे लगायतले सहजीकरण गरेका थिए भने संयोजक सुवोध धिमालले मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व नगर बाल क्लबका अध्यक्ष समिर प्रजापतिले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष दिवस तिमल्सिनाले राखेका थिए ।