2026 April 27/ 01:40: 40pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा उत्पादन भएका सुन्तलाका दाना अन्य जिल्लाका भन्दा साना देखिएका छन् । कृषकहरुको बगैचा ब्यवस्थापनमा भएको अब्यवस्थित योजनाका कारण फल्दै नफल्ने र फलेका सुन्तलाहरु पनि साना हुने गरेका हुन् । 
     १ हजार ६ सय हेक्टरमा ८ हजार मेट्रिक टन सुन्तला र कागती उत्पादन हुने जिल्लाका बेथान्चोक, पनौती, धुलिखेल, नमोबुद्ध लगायतका क्षेत्रमा ३० वर्ष पुराना बोटहरु अझै सक्रिय छन् । नयाँ बगैँचा, भएको बँगैचाको उचित ब्यवस्थापन लगायतमा कृषकहरुले ध्यान दिनु पर्ने कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका प्रमुख कुलप्रसाद दवाडीले बताए । कृषकहरुले सुन्तलाको बोटलाई नियमित मल, पानी लगायत विरुवालाई आवश्यक पर्ने खाद्यान्न र गोडमेल तथा छाँटकाँट गर्नु पर्ने दवाडीले बताए । नियमित रुपमा बगैचा ब्यवस्थापन नगरेकै कारण सुन्तला फलेका तथा गोडमेल नगरेका कारण सानो भएको उनले बताए । जिल्लामा फल्ने सुन्तलाको बजार भए पनि बगैचा सुधारका लागि कृषकहरु सक्रिय नभएको उनले बताए । सुन्तला बगैचा भित्र विभिन्न खालका खेति हुँदा त्यसको असर तथा जोतखन गर्दा जरालाई पु¥याउने असरका बारेमा कृषकहरु सचेत नभएको पाईएको उनले बताए । गत वर्ष भन्दा धेरै सुन्तला फलेको भए पनि दाना साना हुँदा मुल्य कम प्राप्त हुने गरेको छ ।